काठमाडौँ । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले पुँजीबजारलाई उकास्न लगानीकर्ताहरूको माग बमोजिम विभिन्न नीतिगत अवरोधहरू हटाए पनि बजारमा दीर्घकालीन सुधार देखिएको छैन । यसअघि खुकुलो पारिएका सेयर धितो कर्जा सीमा, नेप्सेको अन्तिम मूल्य गणना विधि परिमार्जन र संस्थागत लगानीसम्बन्धी सहजताले पनि बजारमा उत्साह फर्काउन नसकेको हो ।
बजार विश्लेषकहरूका अनुसार अर्थ मन्त्रालय र राष्ट्र बैंकले दिएको एन्टिबायोटिक (नीतिगत सुधार) भन्दा देशमा भएको जेन जी आन्दोलनु ले सिर्जना गरेको राजनीतिक अस्थिरता र अनिश्चितता बढी शक्तिशाली देखिएको छ । यही कारणले लगानीकर्ताको मनोबलमा गम्भीर चोट पुगेको र बजार ओरालो लागेको उनीहरूको भनाइ छ ।
राष्ट्र बैंकले सुरुमा एक बैंकबाट ४ करोड र कुल १२ करोडको सीमा तोके पनि पछि त्यसलाई संशोधन गर्दै १२ करोडको सीमा एकै बैंकबाट लिन सक्ने व्यवस्था गरेको थियो । तर पछिल्लो समय संस्थागत र व्यक्तिगत दुवैतर्फको कर्जा सीमा (जसमा व्यक्तिगततर्फ २५ करोडको सीमा थियो) समेत खारेज गरिएको थियो ।
नेप्सेको अन्तिम १५ मिनेटको भारित औसत गणना विधि खारेज गरियो। साथै, बैंकले सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि हटाइएको थियो ।
ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटका अनुसार अर्थतन्त्र र वित्तीय नीतिहरूमा सुधार महत्त्वपूर्ण भए पनि पूँजी बजार विश्वासले चल्छ । देशव्यापी आन्दोलन, हिंसा र राजनीतिक भविष्यको अनिश्चितताले लगानीकर्तामा डरको वातावरण सिर्जना गरेको छ ।
राष्ट्र बैंकले डोरी फुकालिदिएपनि (नीति खुकुलो पार्दा पनि) देशव्यापी आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरताले लगानीकर्ताको मनोबलमा गम्भीर चोट पुर्यायो, उनले भने, लगानीकर्ताहरूमा आशा भन्दा पनि डर हावी भएको छ, जसले गर्दा नीतिगत सुधारले तत्काल काम गर्न सकेको छैन ।
पछिल्लो समय नीतिगत सहजताले बजारमा क्षणिक उत्साह ल्याए पनि दीर्घकालीन रूपमा राजनीतिक अनिश्चितता नै प्रमुख बाधक बनेको देखिन्छ । जसको परिणाम सेयर बजारमा निरन्तर दोहोरो अंकको गिरावट आएको छ ।
बुधबार सेयर बजार परिसुचक नेप्से २२.५८ अंकले घटेर २५०५.५८ अंकमा पुगेको छ । आज कारोबारमा आएका ३१८ कम्पनी मध्ये ४० कम्पनीको सेयर मूल्य बढ्दा २०६ ओटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार ३५ हजार ७५० पटकको कारोबारमा ७६ लाख ११ हजार ६६० कित्ता सेयरहरु ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँमा किनबेच भएका छन् ।
मंगलबार नेप्से १९.४३ अंकले घट्दा कारोबार रकम ३ अर्ब २६ करोड ५४ लाख ५६ हजार रुपैयाँ पुगेको थियो ।
बुधबार म्युचअल फण्ड समूह ०.२४ प्रतिशतले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ । व्यापार समूह २.०९ प्रतिशतले घटेको बजारमा अन्य समूह १.२२ प्रतिशत, जलविद्युत समूह १.१८ प्रतिशत, विकास बैंक समूह १.१४ प्रतिशत, वित्त समूह १.१० प्रतिशत र होटल तथा पर्यटन समूह १.०६ प्रतिशतले घटेको छ ।
यस्तै समाज लघुवित्त र विन्त्तयवासीनी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ५.८७ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ५.७५ प्रतिशतले र ग्रीन विकास बैंकको सेयर मूल्य ५.०२ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स २० करोड ५४ लाख ४ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । कारोबार संख्याको आधारमा १ हजार ९४ पटकको कारोबार सहित हिमालयन बैंक शीर्ष स्थानमा रहेको छ ।
बुधबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४१ खर्ब ८८ अर्ब ६७ करोड ४० लाख ८८ हजार रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४२ खर्ब २६ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ कायम भएको थियो










प्रतिक्रिया