बाढीले ५ करोड रुपैयाँको धान नष्ट


झापा । यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३.४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ ।

कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको ५ करोड ७५ लाख २३ हजार रुपैयाँ बराबरको १ हजार ६४४.३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिए।

“बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन”, उनले भने, “पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ ।” वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको छ ।

बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको ५ हजार १२.६३ हेक्टर जमिनमा लगाएको कृषिजन्य वस्तु बगाएको प्रमुख विष्टले बताए। उनले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको जानकारी दिए । यो पालिकाको वडा नं १,२ र ३ का ४३१ किसानको ५ करोड १४ लाख ४७ हजार रुपैयाँ बराबरको धान, आलु र केरा नष्ट भएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार  १० : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।