काठमाडौँ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा सोयाबिन तेल अग्रस्थानमा परेको छ । भन्सार विभागको तथ्यांकअनुसार, सोयाविन तेलले निर्यात सूचीको शीर्ष स्थान ओगटिरहेको भए पनि नेपालले त्यसबाट वास्तविक फाइदा लिन सकेको छैन।
चालु आर्थिक वर्षको ३ महिनामा पनि नेपालले ३० अर्ब रुपैयाँभन्दा बढीको कच्चा सोयाबिन तेल आयात गरेको छ । जसलाई प्रशोधन गरेर सोही मूल्यबराबरको तेल पुनः निर्यात गरेको विभागले जनाएको छ ।
परिणामस्वरूप, देशको वैदेशिक व्यापार घाटा घटाउने वा औद्योगिक मूल्यवृद्धि गर्ने सम्भावना नगण्य बनेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्ममा ३० अर्ब २४ करोड ८७ लाख रुपैयाँको १९ करोड ९७ लाख ८२ हजार लिटर सोयाबिनको कच्चा तेल आयात भएको छ भने त्यसलाई प्रशोधन गरी नेपालबाट ३० अर्ब बढी कै सोयाबिनको तेल निर्यात भएको छ ।
गत वर्ष सोही अवधिमा ५ अर्ब ३४ करोड ७७ लाख रुपैयाँको ३ करोड ९३ लाख ५७ हजार लिटर सोयाबिनको कच्चा तेल आयात भएको थियो । अघिल्लो वर्षहरुमा आयातित वस्तुको शीर्ष स्थानमा पेट्रोलियम पर्दाथ आयात हुने गरेको थियो । अहिले भने डिजेललाई उछिन्दै सोयाबिनको कच्चा पदार्थ पहिलो बनेको हो ।
सोयाबिनको कच्चा तेल आयातसँगै निर्यातमा पनि पहिलो नम्बरमै छ । तेस्रो मुलुकबाट आयातित सोयाबिनको कच्चा पदार्थ व्यवसायीले मूल्य अभिवृद्धि गरेर भारत पठाउँदै आएका छन् । निर्यातमा छुट र अग्रिम भुक्तानी सुविधाले व्यवसायी सोयाबिनलाई स्वदेशमा बिक्री गर्नु भन्दा भारतमै निर्यात गर्न रुचाउँछन् । नेपालमा कच्चा सोयाबिनको तेल अर्जेन्टिना, ब्राजिल, पाराग्वे र कतारबाट आयात हुन्छ । सोयाबिनको कच्चा पदार्थ र तेलले समग्र आयात निर्यात व्यापार बढाइदिएको छ ।
नेपालको निर्यातमा नयाँ रेकर्ड बनाउन अधिकांश योगदान तेलको देखिन्छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने कूल निर्यातको करिब आधा हिस्सा आयातित कच्चा सोयाबिन तेल र कच्चा सूर्यमुखी तेल देखिन्छ । चालु आवको ३ महिनामा २ अर्ब १३ करोड ९५ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा ३४ करोड ९२ लाख रुपैयाँ बराबरको कच्चा सूर्यमुखी तेल निर्यात भएको थियो ।
आयातित तेलका कारणले बढेको निर्यात रेकर्डको तथ्यांक हेरेर उत्साहित हुनुपर्ने अवस्था नरहेको अर्थविद् डिल्लीराज खनाल बताउँछन् । तेलको आयात निर्यात दुबै बढेकोले निर्यातलाई मात्रै हेरेर मक्ख पर्न नहुने उनको तर्क छ । ‘यो निर्यात तेल प्रशोधन गर्नका लागि कच्चा पदार्थ बाहिरबाट ल्याउने र नेपालमा छाप लगाएर भारत पठाउने गरेर हो ।’ तेलको आयात र निर्यात बराबर भएकोले यसलाई सुधार मान्न नसकिने उनको जिकिर छ । उनका अनुसार नेपालले आफै उत्पादन गरेका वस्तु निर्यात बढाउन सकेमा मात्र व्यापार घाटा कम हुन्छ ।
यसअघि नेपालबाट पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको थियो । नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेपछि अहिले नेपालबाट पाम तेल निर्यात हुने अवस्था नभएको व्यवसायीहरु बताउँछन् । भारतमा तेलमा उच्च ट्यारिफ रहेका कारण तेल नेपालमा छाप लगाएर भारत निर्यात हुने गरेको अर्थविद खनाल बताउँछन् । भारतमा ट्यारिफ घट्यो भने पाम तेलको जस्तै हालत सोयाबिन तेलको पनि हुने खनालको भनाई छ । यस कारण नेपालले आफ्नै उत्पादन बढाउनु पर्नेमा उनको जोड छ ।
उनका अनुसार नेपालमै भटमास उत्पादन गरेर तेल निर्यात गर्न नसक्दा तेलको निर्यातले स्वदेशी अर्थतन्त्रमा योगदान पु¥याएको छैन । नेपालमै उत्पादन हुने वस्तुहरूको निर्यात घटिरहेकोले यसबारे ध्यान दिनुपर्ने उनको सुझाव छ ।
तेलपछि नेपालबाट निर्यात हुने वस्तुहरूको सूचीमा कार्पेट, अलैँची, जुट वा फाइबरबाट बनेका कपडा, धागो लगायतका वस्तुहरु रहेका छन् । ३ महिनाको अवधिमा २ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ ।
त्यसैगरी, १ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ बराबरको अलैँची, १ अर्ब ५९ करोड १ लाख बराबरको जुट वा फाइबरबाट बनेका कपडा र १ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ बराबरको धागो निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया