वीरगञ्ज नाका हुँदै २ खर्ब १८ अर्ब रुपैयाँको आयात, २६ अर्ब ५९ करोड रुपैयाँको निर्यात


वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा २ खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो ३ महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड रुपैयाँ बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको ३ महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए। “वीरगञ्ज नाका हुँदै पछिल्लो ३ महिनामा २ खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्यको सामान भित्रिदा ५८ अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।” जबकि गत आवको ३ महिनाको सोही अवधिमा १ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको ३ महिनामा यो नाका हुँदै आयातमात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्जनाका हुँदै चालु आवको तीन महिनामा २६ अर्ब ५८ करोड रुपैयाँ मूल्यबराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

जबकि गत आवको ३ महिनाको सोही अवधिमा ८ अर्ब ८४ करोड रुपैयाँ मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । रकमका आधारमा गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १७ अर्ब ७५ करोड रुपैयाँ बढीले निर्यात भएको हो ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार  ११ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।