इलाम । फिक्कल बिहीबारदेखिको निरन्तर वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।
विभिन्न स्थानमा सडक भासिएकाले उक्त खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन। अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको उन्ले जानकारी दिइन।
मेची राजमार्गको वैकल्पिक सडकका रुपमा सञ्चालन भएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ । मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) को बेलासेस्थित माइखोलाको पक्की पुल भाँचिएपछि गत असोज १८ गतेदेखि नै सो सडक बन्द छ । इलाम सदरमुकामबाट झापा जोड्न सबै सडक अवरुद्ध भएपछि इलाम र झापाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।
यसैबीच, जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कात्तिक १३ देखि १५ गतेसम्म कोशी प्रदेशको इलामलगायत विभिन्न क्षेत्रमा मौसम प्रभावित हुने जनाइएको छ ।रासस










प्रतिक्रिया