वैशाखयता ४ हजार ६०० विपद्जन्य घटना


काठमाडौँ । यो वर्षको कात्तिक १५ गतेसम्म देशभर ४ हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म ३ सय ३५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने १ हजार २६४ जना घाइते भएका छन् । बाढीका मात्रै ३ सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका ५ सय ५० घटना हुँदा ६७ जनाको मृत्यु र ४ जना बेपत्ता तथा चट्याङका ३ सय ५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्पदंशका ५ सय ३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, जनावरको आक्रमणका २ सय ६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ । भारी वर्षाका ४ सय २० घटनामा सात, आगलागीका १ हजार ६१४ घटनामा २६ र हुरीबतासका २ सय ८६ घटनामा ८ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिए ।

हिउँ पहिरोमा परी ९ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा २ जनाको मृत्यु भएको छ । विपदजन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार  ०६ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।