पहिराले कान्तिलोकपथ अवरुद्ध,वैकल्पिक सडकको प्रयोग गर्न आग्रह


बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा ढुङ्गा खस्दा सो सडकमा आवातजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। पहिरो पन्छाएर सडक सञ्चालन गराउन डोजर र जनशक्ति परिचालन गरिएको उनले बताए ।

त्यसैगरी, हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक अझै सञ्चालन हुनसकेको छैन । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझबाट सो सडक अवरुद्ध भएको थियो । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गामाटो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । सडक सञ्चालन गराउन समय लाग्ने भएकाले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार  ०८ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।