नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त


काठमाडौँ । नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्तामा निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ ।

निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मङ्गलबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराइएको छ । शपथ ग्रहणपछि अध्यक्ष राईले निगम सञ्चालक समितिको कार्यालयमा कार्यभार सम्हाल्दै प्रधानमन्त्री र जेनजी आन्दोलनको चाहना अनुसार निगममा देखिने गरी सुधार गर्ने प्रतिबद्धता जनाए।

उनले हाल ए३२० जहाजमा प्रयोग हुँदै आएको भाडाको एउटा इञ्जिन सम्बन्धित कम्पनीलाई फिर्ता गर्दै मर्मतका लागि इजरायल पठाइएको निगमको इञ्जिन जडान १५ दिनभित्र टुङ्ग््याउन निर्देशन दिएका छन्।

उनले बेलाबेलामा मिडियामा र जनमानसमा उठ्दै आएको ‘विजनेस क्लास’को टिकटलाई ‘अपग्रेड’ गर्ने प्रवृत्ति तत्काल बन्द गर्न, यात्रु ‘व्यागेज’ नीतिमा समयानुकूल परिमार्जन गर्न र यात्रु व्यागेज टुटफुट सम्बन्धमा आएको जनगुनासो यथाशीघ्र सम्बोधन गर्न पनि निर्देशन दिए ।

अध्यक्ष राईले प्रश्न उठेका करार तथा ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीको नियुक्ति नियमसङ्गत बदर गर्नसमेत निर्देशन दिए। उनले निगमको व्यवस्थापकीय कार्यमा आफ्नो कुनै हस्तक्षेप नरहने स्पष्ट पारेका छन्।

नवनियुक्त अध्यक्ष राईले कार्यभार सम्हालेसँगै उनलाई स्वागत गर्दै निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीसहित विभागीय प्रमुखहरुले आ–आफ्नो विभागबाट भइरहेका कामका बारेमा जानकारी गराइएको थियो ।

निमित्त महाप्रबन्धक कालाखेतीले मङ्गलबार नै निगमको कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएकाछन् । झण्डै दुई दशकदेखि निगमका विभिन्न जिम्मेवारीमा रहेका घिमिरेले संस्थाको सूचना तथा सन्देश नागरिकका बीचमा पु(याउन, संस्थाको छवि सकारात्मक बनाउन र सञ्चार माध्यमहरुसँग समन्वय गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए  ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार  ०६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।