पर्वत । जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई ३० लाख रुपैयाँ राहतस्वरूप वितरण गर्ने भएको छ ।
पैयुँ गाउँपालिका ५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्याएपछि राहत उपलब्ध गराउन कृषकले गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरेपछि क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउने कार्यपालिकाको बैठकबाट निर्णय भएको छ ।
गाउँपालिका कार्यालयबाट कात्तिक १४ गतेदेखि धानबालीमा भएको क्षतिको विवरण सङ्कलन गर्न कर्मचारी खटाइएको उनले बताए। उनले कर्मचारी र जनप्रतिनिधि सहभागी टोलीले पालिकाभरमा ७०० परिवारको १ हजार ५०० रोपनी खेतमा लगाइएको बालीमा क्षति पुगेको विवरण उपलब्ध गराएका जानकारी दिए। उनका अनुसार उक्त क्षेत्रफलमा लगाइएको करिब ४५० टन धानबाली नष्ट भएको अनुगमनकर्ताको विवरणमा उल्लेख छ ।
कार्यपालिकाको बैठकले राहत वितरण गर्दा न्यूनतम एक रोपनी क्षेत्रफलको धान क्षति भएका किसानलाई २ हजार तथा १ रोपनीभन्दा बढी क्षति भएका किसानलाई त्यसपछिको प्रत्येक रोपनीका लागि १ हजार ५०० का दरले थप गरी राहत दिने निर्णय गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले राहत रकममा यति खर्च हुन्छ भन्ने यकीन भने नभएको बताए। प्रत्येक परिवारको कूल क्षेत्रफलको प्रमाणित तथ्याङ्क निकालेपछि मात्रै खर्च रकमबारे टुङ्गो लाग्ने उनको भनाइ छ । पन्ध्र सय रोपनीलाई १ हजार ५०० का दरमा राहत वितरण गर्दा अनुमानित करिब २२ लाख गाउँपालिकाले कृषकलाई वितरण उनले जानकारी दिए।
भित्र्याउने बेलाको बालीलाई वर्षाले प्रभावित पारेपछि पर्वतका कृषकहरू चिन्तामा छन् । काटेर सुकाइएको धान भिजाउने, निहिनमा धान झार्ने, पराल भिज्नेलगायत समस्या भएको छ । नकाटेर गरामा ठाडो अवस्थामा रहेका धानमा वर्षाले खासै क्षति नगरेको भए पनि गत सोमबारको हावाले बाली ढलाएर क्षति पुर्याएको पैयुँ गाउँपालिकाले जनाएको छ ।
जिल्लाको कुश्मा नगरपालिका, फलेबास नगरपालिका, विहादी, मोदी र महाशिला गाउँपालिकाले पनि क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिएका छन् ।










प्रतिक्रिया