ताप्लेजुङ । पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलो) १ लाख रुपैयाँ नाघेको छ ।
गुणस्तरीय अलैँची प्रतिमन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए । शनिबार प्रतिमन ९६ हजार रुपैयाँ रहेको अलैँचीको मूल्य अपराह्नपछि प्रतिमन २ हजार रुपैयाँले बढेर ९८ हजार रुपैयाँ पुगेको थियो । फेरि प्रतिमन ४ हजारका दरले वृद्धि भई १ लाख २ हजार रुपैयाँ पुगेको उनले बताए।
असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजार रुपैयाँमा स्थिर रहेको अलैँचीको मूल्य १ महिनाको अवधिमा १५–१७ हजार रुपैयाँले वृद्धि भएको छ । नयाँ उत्पादन सुरु भएपछि ८० हजार रुपैयाँ प्रतिमनबाट कारोबार सुरु भएको अलैँचीको मूल्यमा यस वर्ष अपेक्षाकृत वृद्धि भएको व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो मुलुक निर्यात हुने गर्दछ ।रासस










प्रतिक्रिया