चितवन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले समाजसेवी बालगोपाल चुकेले दान दिएको जग्गामा नयाँ भवन बनाउने भएको छ । भरतपुर महानगरपालिका–३ नारायणगढमा उनले दिएको १० धुर र क्लबले थप १० धुर खरिद गरेर २ करोड रुपैयाँको लागतमा भवन निर्माण सुरु गरिएको हो ।
भवन निर्माण समितिका संयोजक तथा पूर्व डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेका अनुसार १ करोड रुपैयाँ बराबरको जग्गा बालगोपालले निःशुल्क उपलब्ध गराएपछि सोही ठाउँमा क्लबले थप १० धुर १ करोड रुपैयाँमा खरिद गरी भवन निर्माणका लागि शिलन्यास गरिएको छ । भवनको लायन्स अन्तरराष्ट्रियका पूर्व निर्देशक बालकृष्ण बुर्लाकोटी र लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनका एरिया लिडर राजन लम्सालले हालै शिलन्यास गरे।
नेपालमा १५ लायन्सका डिष्ट्रिक क्रियाशील छन् । ती डिष्ट्रिकमध्ये आफ्नै प्रशासकीय भवनको सिलान्यास गर्ने डिष्ट्रिक ३२५ आर पहिलो हो । हाल यस डिष्ट्रिकमा १८७ लायन्स क्लबमा ४,४१० लायन सदस्य आवद्ध रहेको उनले जानकारी दिए।
संयोजक चुकेले प्रशासकीय भवन २ करोड रुपैयाँको लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए। सो कार्यका लागि हालसम्म करिब ४५ लाख रुपैयाँ सङ्कलन भइसकेको र बाँकी रकम पनि चाँडै सङ्कलन हुने विश्वास उनले व्यक्त गरे । प्रति लायन सदस्य ३,००० रुपैयाँका दरले सहयोग सङ्कलन गरेर भवन निर्माण गर्न लागिएको उनले बताए।
इञ्जीनीयर उमेश ढकालका अनुसार भवनको पहिलो तला कार्यालय प्रयोजनको रुपमा रहनेछ भने दोस्रो तलामा २ वटा हल रहने गरी नक्शा तयार गरिएको छ । शिलन्यास समारोहमा उपस्थित रहनुभएका बुर्लाकोटी र लम्सालले भवन निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ प्रदान गरे ।
डिष्ट्रिक गर्भनर नवराज सापकोटाले भवन निर्माणका लागि जग्गादाता चुके र चुके परिवारको महत्वपूर्ण भूमिका रहेको बताउँदै भवन निर्माण सम्पन्न भएसँगै क्लबका गतिविधि बढाउन सहयोगी हुने छ । व्यवसायी बालगोपाल चुके चितवनका समाजसेवीका रुपमा परिचित छन् । उनी लायन्सका नेतृत्वकर्तासमेत रहेएका छन् ।










प्रतिक्रिया