काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा बागमती प्रदेशका उद्योगहरूमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा १३.८ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब ५ करोड पुगेको छ । गत वर्ष यस्तो कर्जा ११.५ प्रतिशतले वृद्धि भई १० खर्ब ६३ अर्ब ९४ करोड पुगेको थियो ।
यस्तै गत वर्ष यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको प्रतिवेदनले देखाएको छ ।
२०८२ असार मसान्तमा यस प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले वृद्धि आई १ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा ५.१ प्रतिशतले घटेको थियो ।
यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । कुल कृषि कर्जा मध्ये बागमती प्रदेशमा प्रवाह भएको कृषि कर्जाको हिस्सा ३६.१६ प्रतिशत रहेको छ ।
यस्तै औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा, निक्षेप संकलन भन्दा कर्जा प्रवाह उच्च भएको देखिएको छ भने कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको हिस्सा सबैभन्दा बढी ५२.६ प्रतिशत, चितवन जिल्लाको हिस्सा २३.१ प्रतिशत, मकवानपुर जिल्लाको हिस्सा ४.७ प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाको हिस्सा ४.३ प्रतिशत र दोलखा जिल्लाको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत रहेको छ ।
यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३६.४ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ११ खर्ब १९ अर्ब ३० करोड (९२.४ प्रतिशत) कर्जा लगानी रहको छ ।
रसुवा जिल्लामा सबैभन्दा कम १३ करोड (०.०१ प्रतिशत) कर्जा लगानी रहेको छ । अधिकांश औद्योगिक प्रतिष्ठानहरूको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकाले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको अनुमान छ ।
कुल औद्योगिक कर्जामा विद्युत्, ग्याँस तथा पानी उद्योगको हिस्सा ३६.५ प्रतिशत, गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगको हिस्सा ३१.५ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगको हिस्सा १५ प्रतिशत, निर्माण उद्योगको हिस्सा १२.८ प्रतिशत, धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगकोहिस्सा ३.५ प्रतिशतले र खानी उत्पादनसम्बन्धी उद्योगको हिस्सा ०.७ प्रतिशत रहेको छ ।
गत आवमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ । यस्तै नमूना छनौटमा परेका होटलहरूको औसत क्षमता उपयोग (अकुपेन्सी) ५७ प्रतिशत रहेको छ ।
गत वर्षको सोही अवधिमा नमुना छनौटमा परेका होटलहरूको अकुपेन्सी ५१.९ प्रतिशत रहेको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बागमती प्रदेशमा संचालनमा रहेका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोगमा गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनकि गरेको बागमती प्रदेशको आथिर्क गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१–८२) अनुसार बागमती प्रदेशका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३८.७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ४४.३ प्रतिशत रहके थियो ।
प्रतिवेदन अनुसार नमुना छनौटमा परेका उद्योगहरुमध्ये चाउचाउ उद्योगले सबैभन्दा बढी क्षमता उपयोग गरेको छ भने लत्ता कपडा मध्येको गार्मेण्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम रहेको छ ।
गत वर्ष नमुना छनौटमा समेटिएका उद्योगका उत्पादनमध्ये वियर, चुरोट, टान्सफर्मर तथा औषधीमध्येको ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, ड्राइसिरप र लिक्विडको उत्पादन बढेको छ भने प्रशोधित दूध, पशुदाना, चाउचाउ, हल्का पेय पदार्थ, पश्मिना, गार्मेण्ट, रगं , इँटा, बिजुलीको उत्पादन घटेको छ ।
आर्थिक वर्ष २०८१–८२ मा कुल ५४३ उद्योगहरू दर्ता भएका छन् । स्थापना गरिएका यस्ता उद्योगहरूको सञ्चालनले बागमती प्रदेशको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाले यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १०.८४ प्रतिशतले र कर्जा प्रवाह ११.३५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।












प्रतिक्रिया