करिब ३ करोड लगानीमा पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार


गोदावरी । सुदूरपश्चिम प्रदेशमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा यहाँका विभिन्न जिल्लामा समूह, सहकारी तथा इच्छुक व्यक्तिमार्फत ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरेको हो ।

मन्त्रालयका उपसचिव भरत श्रेष्ठले मन्त्रालयले सुदूरपश्चिममा भइरहेको जडीबुटी संरक्षण गरी उत्पादन बढाउने र जडीबुटीखेती विस्तार गर्ने गरिरहेको बताए । उनले प्रदेशभर जडीबुटीखेती विस्तारका लागि गत आव २०८१/८२ मा सङ्घ शसर्ततर्फ दुई करोड ३० लाख रुपैयाँ र प्रदेश सरकारबाट ६० लाख रुपैयाँ बजेट विनियोजन भई गत आवमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तारको काम भएको जानकारी दिए ।

मन्त्रालयले सुदूरपश्चिममा जडीबुटीखेती विस्तारका लागि चालु आर्थिक वर्षमा सङ्घ शसर्ततर्फ एक करोड ८१ लाख रुपैयाँ र प्रदेश सरकारबाट ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेश वन नियमावली, २०७८ र वन ऐन, २०७७ ल्याएको जनाउँदै उनले उक्त ऐन र नियमावलीमा सुदूरपश्चिममा भएका मूल्यवान जडीबुटी संरक्षण, सम्वद्र्धन तथा व्यस्थापनको जिम्मेवारी डिभिजन वन कार्यालयलाई दिइएको बताए ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलका सचिव दीर्घनारायण कोइरालाले सुदूरपश्चिम जडीबुटीको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसको संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनका लागि दीर्घकालीन नीति आवश्यक भएको बताए ।

उनले प्रदेश सरकारले यस वर्ष गर्ने भनेको लगानी सम्मेलनमा सुदूरपश्चिम प्रदेशमा जडीबुटीको सम्भाव्यताबारे जानकारी लिने उद्देश्य राखिएको भए पनि विशेष परिस्थितिका कारण सम्मेलन रोकिन पुगेको बताए ।

सचिव कोइरालाले जडीबुटीको गन्तव्य भारत र चीन भएकाले बजारको प्रचुर सम्भावना रहेको जानकारी दिँदै उनले प्राकृतिक रुपमा रहेका जडीबुुटीलाई खुला चरिचरन, वन डढेलो र चोरीपैठारी रोक्न डिभिजन वन कार्यालयको महत्वपूर्ण भूमिका रहेको बताए ।

सुदूरपश्चिममा जडीबुटी सङ्कलन गरी जस्ताकोतस्तै निकासी गर्नुभन्दा जडीबुटीलाई एक तह प्रशोधन गरेर बिक्री गर्दा लाभ लिन सकिने उनको भनाइ छ । उनले मूल्यवान् जडीबुटीको संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनका लागि छुट्टै नीति र ऐन ल्याउनका लागि छलफल सुरु गरिएको जानकारी दिए ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार  १३ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।