४ महिनामा सवा ५ खर्ब नाघ्यो व्यापार घाटा


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा सवा ५ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा नेपालले कूल ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो ।

गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष ११.९९ प्रतिशतले बढेको हो । गत वर्षको सो अवधिमा मुलुकको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ कराेड ७३ लाख रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

सो अवधिमा मुलुकको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष (२०८१/८२) को सोही अवधिमा ५ खर्ब ६६ अर्बको व्यापार भएकोमा यस वर्ष बढेर ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको हो ।

पहिलो चार महिनामा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

निर्यातसँगै आयातमा पनि वृद्धि देखिएको छ । यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १८.७१ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएको थियो ।

निर्यातमा ठूलो सुधार भए तापनि आयातको उच्च परिमाणका कारण मुलुकको व्यापार घाटा भने बढेको हो ।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।