सेयर कारोबारबाट चार महिनामा तीन अर्ब ३८ करोड मात्रै उठ्यो पुँजीगत लाभकर


काठमाडौं ।  चालु आर्थिक वर्षको चार महिनामा सेयर कारोबारमार्फत सरकारले कुल तीन अर्ब ३८ करोड ३३ लाख २४ हजार ७३६ रुपैयाँ मात्रै पुँजीगत लाभकर संकलन गरेको छ । जबकी गत आवको सोही अवधिमा सेयर कारोबारबाट ८ अर्ब १३ करोड रुपैयाँ लाभकर संकलन भएको थियो । गत आवको चार महिनाको तुलनामा चालु आवको चार महिनामा ५८.५४ प्रतिशतको गिरावट हो ।

चालु आर्थिक वर्षको कात्तिक महिनामा सेयर कारोबारमार्फत ३८ करोड ५ लाख ९९ हजार २९० रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार गत असोज महिनाको तुलनामा कात्तिकमा पुँजीगत लाभकर १४ करोड रुपैयाँ बढी संकलन भएको हो । गत असोज महिनामा २४ करोड ३६ लाख ५६ हजार ९२० रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

असोजमा सेयर बजार घट्दा पुँजीगत लाभकर पनि घट्न पुगेको हो । असोजमा उठेको लाभकर चालु आर्थिक वर्ष लागे यताकै सबैभन्दा कम हो ।

गत साउनमा दुई अर्ब १५ करोड ७५ लाख ६९ हजार रुपैयाँ लाभकर उठेको थियो । भदौमा भने यस्तो लाभकर ६० करोड १४ लाख ९९ हजार ४६४ रुपैयाँ संकलन भएको सिडिएससीको तथ्यांक छ ।

गत आवको साउनमा ४ अर्ब २३ करोड पुँजीगत लाभकर संकलन गरेकोमा भदौमा २ अर्ब ५७ करोड, असोजमा ५८ करोड ६५ लाख, कात्तिकमा ७५ करोड ८७ लाख रुपैयाँ लाभकर संकलन भएको छ ।

सिडिएससीका अनुसार कात्तिक महिनामा सबैभन्दा धेरै लाभकर अल्पकालीन लगानीकर्ताले तिरेका छन्। उनीहरूले कात्तिकमा मात्रै १६ करोड ३५ लाख रुपैयाँ भन्दा बढी लाभकर तिरेको तथ्यांक छ ।

यस्तै सबैभन्दा धेरै लाभकर तिर्नेमा दीर्घकालीन लगानीकर्ता दोस्रो नम्बरमा छन्। उनीहरूले १२ करोड ७१ लाख रुपैयाँ तिरेका छन् भने सबैभन्दा थोरै लाभकर तिर्नेमा संस्थागत लगानीकर्ता छन् । उनीहरूले आठ करोड ९८ लाख मात्रै लाभकर तिरेका छन् ।

तथ्यांक अनुसार व्यक्तिगत लगानीकर्ताले सबैभन्दा बढी कारोबार गर्ने र सबैभन्दा बढी कारोबार तिर्ने गरेका छन् । यसले नेपालमा संस्थागत लगानीकर्ता भन्दा व्यक्तिगत लगानीकर्ता बजारमा हाबी भएको देखाएको छ ।

शेयर कारोबार गर्दा हुने खुद नाफामा लगानीकर्ताले तोकिएको दरमा सरकारलाई कर तिर्नुपर्छ । खरिद गरेको एक वर्षपछि बिक्री गरेको शेयरमा भएको नाफामा पाँच प्रतिशत लाभकर तिरे पुग्छ। जसलाई सरकाले दीर्घकालीन लाभकर मान्ने गरेको छ।

खरिद गरेको वर्ष भित्रै बिक्री गरेको शेयरमा हुने नाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ। जसलाई अल्पकालीन लाभकर मान्ने गरिएको छ। संस्थागत लगानीकर्ताले भने १० प्रतिशत कर तिर्नुपर्छ।

तर संस्थागत लगानीकर्ताले वर्षको अन्तिममा नाफा घाटा मिलान गर्न पाउने व्यवस्था छ। तर अल्पकालीन र दीर्घकालीन लगानीकर्ताले नाफा घाटा मिलान गर्न पाउँदैनन्।

दोस्रो बजारमा कारोबार गर्दा नाफा नभएमा भने कर तिर्नु पर्दैन। तर ब्रोकर कमिसनलगायत कारोबार गर्दा लाग्ने शुल्क भने तिर्नुपर्छ।

गत आवदेखि सेयर बजारमा नीतिगत लचकता अपनाइएसँगै सेयर बजार पनि बढेको थियो । तर पछिल्लो समय फेरि घट्दै गएको छ । जसले गर्दा गत आवको तुलनामा चालु आवका चार महिनामा कम मात्रै पुँजीगत लाभकर संकलन भएको सिडिएससीको तथ्यांक छ ।

अघिल्लो आवमा १८ सय विन्दु आसपासमा रुमल्लिएको सेयर बजार गत आवको साउनमै ३ हजार हाराहारीमा पुगेको थियो । तर त्यसको केहि महिनापछि फेरि सेयर बजारमा उतारचढाव आएर हालसम्म २६ सय विन्दुकै हाराहारीमा सेयर कारोबार भइरहेको छ । जसले सेयर बजारमा पुन: सुस्तता छाएको देखाउँछ । सोही कारण नै चालु आवका यी महिनाहरूमा गत आवको भन्दा कम पुजीगत लाभकर संकलन भएको हो ।

अब मुलुकमा राजनीतिक स्थिरता भएमा सेयर बजार बढ्दै जाने अपेक्षा छ । सेयर बजार बढ्दै गएमा फेरि सेयर कारोबार बढ्ने र पुँजीगत लाभकर संकलन पनि बढ्ने अवस्था आउने जानकार बताउँछन् ।

धितोपत्र कारोबार जति बढी भयो, त्यति नै पुँजीगत लाभकर पनि बढ्दै जान्छ । पछिल्ला वर्षहरूमा नियामकीय कडाइलगायत कारण धितोपत्र बजार निकै संकुचित बनेको थियो । यसकारण पुँजीगत लाभकर संकलनमा धक्का परेको थियो ।

तर, गत  आवको मौद्रिक नीतिदेखि चालु आवको मौद्रिक नीतिमा पनि राष्ट्र बैंकले सेयर बजारलाई प्रभाव पार्ने नियामकीय व्यवस्थाहरूलाई लचिलो बनायो ।  जसले गर्दा लगानीकर्ताको मनोबल बढेपनि राजनीतिक अस्थिरताका कारण माहोल सम्हालिन नसकेको हो ।

अन्तरिम सरकारले निर्वाचन सम्पन्न गरेपछि मात्रै मुलुकमा लगानीको वातावरण बन्ने र त्यसले सेयर बजारमा फेरि माहोल सिर्जना गर्ने प्रतीक्षामा लगानीकर्ताहरू छन् ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  १३ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।