सेयर बजार परिसुचक नेप्सेमा हरियाली कारोबार रकममा पनि सुधार


काठमाडौँ । सेयर बजार परिसुचकमा हरियाली देखिएको छ । सोमबार नेप्से ५०.४४ अंकले बढेर २६५०.६६ अंकमा पुगेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । कारोबारमा आएका ३३० कम्पनीका १ करोड ४२ लाख ४ हजार कित्ता सेयरहरु ७९ हजार ७१४ पटक किनबेच हुँदा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्से ३९.९२ अंकले बढेर २६००.२२ अंकमा पुग्दा कारोबार रकम ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ पुगेको थियो ।

सोमबार सबैसमूहमा हरियाली देखिएको बजारमा सबैभन्दा बढी जीवन बीमा समूह ४.९४ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन र निर्जीवन बीमा समूह २ प्रतिशतभन्दा बढीले बढ्दा बैकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूह १ प्रतिशतभन्दा बढीले बढेको छ ।

झापा इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

समग्र बजार बढ्दा पनि माबिलुङ्ग इनर्जीको सेयर मूल्य सबैभन्दा बढी ४.४४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा २४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार सहित नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  १५ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।