काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा मार्जिन कारोबारलाई प्रभावकारी बनाउन ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०८२’ को प्रारम्भिक मस्यौदा बनाएको छ ।
बोर्डले तयार पारेको उक्त मस्यौदामा सरोकारवालासँग राय सुझाव माग्दै नयाँ व्यवस्था प्रस्ताव सार्वजनिक गरेको हो । बोर्डले तयार गरेको मस्यौदामा कुनै राय सुझाव भए सात दिन भित्र बोर्डको इमेल ठेगानामा उपलब्ध गराउन आग्रह गरेको छ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी तयार पारेको मस्यौदा अनुसार अब लगानीकर्ताले ३० प्रतिशत रकम बुझाएर मात्रै ‘ए’ वर्गका कम्पनीको सेयर खरिद गर्न सक्ने प्रस्ताव गरेको छ ।
यस्तै, धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले लगानीकर्तासँग सेयर खरिद गर्दा न्यूनतम प्रारम्भिक मार्जिन लिनुपर्नेछ ।
जसमा १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको आधारमा गणना हुने गरी ‘ए’ वर्गका कम्पनीको ३० प्रतिशत, ‘बी’ वर्गका कम्पनीको ४० प्रतिशत र अन्य योग्य कम्पनीको ३५ प्रतिशतमा सेयर किन्न पाइने प्रस्ताव गरेको छ । ‘ए’ वर्गको कम्पनीको सेयर किन्न लगानीकर्ताले ३० रुपैयाँ हाल्दा ब्रोकरले ७० रुपैयाँ ऋण सुविधा उपलब्ध गराउने व्यवस्था गर्न लागिएको छ ।
यस्तै बोर्डले मार्जिन कारोवार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यता पनि तोकेको छ । जसमा चुक्ता पुँजी कम्तिमा २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको, र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पालना गरेको धितोपत्र दलाल व्यवसायीले यो सुविधा पाउनेछन् ।
सबै कम्पनीको सेयरमा मार्जिन सुविधा पाइने छैन । ग्राहकको जोखिम मूल्यांकन, बजारको अवस्था तथा सूचिकृत संगठित संस्थाको शेयरमा निहित जोखिमलाई दृष्टिगत गरी धितोपत्र दलाल व्यवसायीले मार्जिनभन्दा बढी मार्जिन माग गर्न सक्नेछ भने धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्तासँग न्यूनतम हुन आउने रकम सम्भार मार्जिन कायम राख्नुपर्नेछ व्यस्था मस्यौदामा प्रस्ताव गरिएको छ ।
बोर्डले प्रस्ताव गरेको मापदण्ड अनुसार मार्जिनका लागि योग्य हुन कम्पनीले कम्तीमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण भएको हुनु पर्ने प्रस्ताव बोर्डले गरेको छ ।
ग्राहकको जोखिम मूल्यांकन, बजारको अवस्था तथा सूचिकृत संगठित संस्थाको शेयरमा निहित जोखिमलाई दृष्टिगत गरी धितोपत्र दलाल व्यवसायीले मार्जिनभन्दा बढी मार्जिन माग गर्न सक्नेछ भने धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्तासँग न्यूनतम हुन आउने रकम सम्भार मार्जिन कायम राख्नुपर्नेछ व्यस्था मस्यौदामा प्रस्ताव गरिएको छ ।
त्यस्तै नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, मूल्य घट्दा मार्जिन कल र सेयर बिक्री र सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनु पर्ने मापदण्ड पनि राखेको छ ।
सेबनको प्रस्ताव मस्यौदा अनुसार सेयर बजार घट्दा लगानीकर्ताले निश्चित रकम खातामा कायम राख्नुपर्नेछ । मस्यौदाको अनुसूची–२ अनुसार ‘ए’ वर्गका लागि २० प्रतिशत, ‘बी’ वर्गका लागि ३० प्रतिशत र अन्यका लागि २५ प्रतिशत सम्भार मार्जिन कायम हुनुपर्ने छ ।
यदि सेयरको मूल्य घटेर तोकिएको मार्जिन कायम हुन नसकेमा ब्रोकरले लगानीकर्तालाई ‘मार्जिन कल’ गर्नेछन्। लगानीकर्ताले पैसा थप नगरे वा सम्पर्कमा नआए ब्रोकरले सेयर बिक्री गरी हिसाब मिलान गर्न सक्ने अधिकार मस्यौदामा प्रस्ताव गरिएको छ । यसका लागि लगानीकर्ताले सुरुमै ब्रोकरलाई सेयर बिक्री गर्ने अधिकारसहितको वारेसनामा दिनुपर्नेछ ।
मार्जिन सुविधा लिन चाहने लगानीकर्ताले ब्रोकर कहाँ छुट्टै ‘मार्जिन कारोबार खाता’ र ‘मार्जिन कारोबार हितग्राही (डिम्याट) खाता’ खोल्नुपर्नेछ । तर, ब्रोकरको सिस्टमले एउटै खाताबाट व्यवस्थापन गर्न सकेमा भने छुट्टै खाता आवश्यक पर्ने छैन । खरिद गरिएको सेयरको दैनिक मूल्यांकन ‘मार्क टु मार्केट’ विधिबाट गरिनेछ ।
यसअघि २०७४ सालमा जारी भएको निर्देशन कार्यान्वयनमा जटिलता देखिएपछि बोर्डले २०८२ सालमा लागु हुने गरी नयाँ मस्यौदा ल्याएको हो ।










प्रतिक्रिया