मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता


जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरिएको जानकारी दिएका छन् ।

प्रथम मन्त्रिपरिषद् बैठकको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक दुई हजार रुपैयाँका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको बताए ।

प्रदेश सरकारले १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवालाई जीवन निर्वाहबापत मासिक दुई हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेशमा स्नातक उत्तीर्ण गरेका करिब एक लाख ५० हजार बेरोजगार युवा छन् ।

बैठकमा सरकारले खडेरी र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा एक हजार ५०० रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ ।

किसानलाई राहत दिँदा ३६ करोड रुपैयाँ र युवालाई बेरोजगार भत्ता दिँदा ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको मुख्यमन्त्री यादवले जानकारी दिए । किसानलाई राहतस्वरूप एक हजार ५०० रुपैयाँ प्रतिकट्ठा राहतस्वरूप उपलब्ध गराउने प्रक्रियामा रहेको उनले बताए ।

यस वर्ष लामो समय खडेरीको मारमा परेका मधेस प्रदेशका किसानहरू गत असोजको अविरल वर्षाबाट पुनःडुबान पीडित भएका थिए । मनसुन अवधिमा लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेसका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार  १५ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।