स्टार्टअप उद्यम कर्जाको लागि दोब्बर बढी आवेदन


काठमाडौँ । स्टार्टअप उद्यम कर्जाको लागि गत वर्षको भन्दा दोब्बर बढी आवेदन परेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप उद्यम कर्जाका लागि १० हजार २४४ उद्योगीको आवेदन परेको औद्योगिक व्यवसाय प्रतिष्ठानले जनाएको छ । जुन गत वर्षको तुलनामा दोब्बरले बढी हो ।

प्रतिष्ठानले गत आव २०८१/८२ मा छ सय जना उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ स्टार्टअप कर्जा प्रवाह गरेको थियो । यस्तै आव २०८०/८१ मा प्रतिष्ठानले १६५ उद्यमीलाई २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

प्रतिष्ठानले १९ कात्तिकमा २१ दिने सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप उद्यम कर्जामा आकर्षण बढ्दै गएकाले गत वर्षभन्दा दोब्बर सङ्ख्यामा परियोजनाको प्रस्ताव परेको जानकारी दिए । “यस वर्ष बजेट कम भएकाले चार सय देखि ५५० उद्यमीलाई कर्जा उपलब्ध गराउने लक्ष्य राखिएको छ,” उनले भने । “छनोटमा परेका उद्यमीले बिनाधितो तीन प्रतिशत ब्याजमा पाँच लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने छ ।

दुई हजार ४१ उद्यमीले कार्यालयमा नै गएर परियोजना प्रस्ताव दर्ता गराएको र अनलाइनमार्फत आठ हजार २०३ जनाले प्रस्ताव दर्ता गराएका छन् ।

सरकारले चालु आवका लागि स्टार्टअप कर्जा दिन ७३ करोड रुपैयाँ बजेट छुट्याएको छ । विनियोजित बजेटबाट प्रशासनिक खर्चका लागि तीन प्रतिशत कटाएर बाँकी रकम कर्जा प्रवाह गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले यसअघि उद्यमीलाई न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गर्दै आएको थियो । यस पटक कार्यविधि संशोधन गरेर कर्जाको सीमा २० लाख रुपैयाँसम्म झारेको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।