एक सातामा सुनको मूल्य तोलामा करिब ९ हजारले बढ्यो


काठमाडौँ । यस साताभरमा सुनको मूल्य करीब ९ हजार रुपैयाँले बढेको छ । गत शुक्रबारदेखि यस शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ८ हजार ९०० रुपैयाँले बढेको छ । यस्तै चाँदीको मूल्य २४५ रुपैयाँले बढेको हो ।

सातामा सुनको मूल्य ४ दिन बढ्दा दुई कारोबार दिन भने घटेको छ । सुनको मूल्य सोमबार र बिहीबार घटेको हो । साताको पहिलो दिन साताको पहिलो दिन आइतबार २ हजार ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँ पुगेको थियो ।

यसैगरी, सोमबार सुनको भाउ आइतबारको तुलनामा १ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा झरेको थियो । मंगलबार ५ हजार २०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्य बुधबार ९०० रुपैयाँले बढेर २ लाख ४८ हजार ८०० रुपैयाँमा किनबेच भयो ।

बिहीबार भने बिहीबार भने ४०० रुपैयाँले घटेर २ लाख ४८ हजार ४०० रुपैयाँमा झर्‍यो । गत शुक्रबार प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुक्रबार २ लाख ५० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार २० रुपैयाँले घटेर ३ हजार ११५ रुपैयाँमा झरेको थियो । मंगलबार चाँदीको मूल्य ८५ रुपैयाँले बढेर ३ हजार २०० रुपैयाँमा कारोबार हुँदा बुधबार २० रुपैयाँले बढेर ३ हजार ३२० रुपैयाँ, बिहीबार ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार २८० रुपैयाँ र शुक्रबार ६५ रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यले बताएका छन् ।

पूर्व अध्यक्ष शाक्यका अनुसार, ‘विश्वभर आर्थिक गतिविधिमा सुस्तता देखिएकाले औद्योगिक तथा अन्य उत्पादन क्षेत्रतर्फ लगानी जान सकेन, सो लगानी पनि सुनमै हुन थालेपछि मागसँगै मूल्य बढेको हो ।’

अमेरिकी फेडरल रिजर्भ बैंकले आगामी डिसेम्बरमा ब्याजदर घटाउने हल्लाले सुनको मूल्य बढ्न गएको महासंघले जनाएको छ । यस्तै फ्रान्सले युक्रेनलाई युद्ध सामग्री दिने सम्झौता गरेकाले पनि सुनको मूल्य बढ्न गएको विज्ञहरुको भनाइ छ ।

पछिल्लो केही सातायता सुनको मूल्यमा घटबढ आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा अस्थिरता भई आर्थिक गतिविधि चलायमान नहुँदा लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार  १६ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।