धान उत्पादनमा वृद्धि


त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ ।

कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार यस वर्ष जिल्लामा ७८ हजार ५०६ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा नवलपुरमा ७१ हजार १२१ मेट्रिकटन धान उत्पादन भएको थियो ।

यस वर्ष ७ हजार ३८५ मेट्रिकटन धान उत्पादन वृद्धि भएको कृषि अर्थ विज्ञ ढकालले बताए। नवलपुरमा यस वर्ष १८ हजार ६९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ७१६ हेक्टर क्षेत्रफलमा धान खेती भएको भए पनि असोजको बाढीका कारण डुबान, प्रतिकुल मौसमका कारण सावा मन्सुली धानमा बाला नलाग्ने समस्या देखिँदा उत्पादन कम भएको थियो ।

यसवर्ष आकाशे पानीको भरमा सिँचाइ गरिने ठाउँमा रोपाइँको क्षेत्रफल घटेको भए पनि उत्पादकत्व बढी भएकाले उत्पादन ढकालको भनाइ छ ।

गत वर्ष धानको उत्पादकत्व ३.८ मेट्रिक टन प्रति हेक्टर भएकोमा यसवर्ष उत्पादकत्व बढेर ४.२ मेट्रिक टन प्रति हेक्टर पुगेको छ ।

नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धान लगाउने गरिन्छ । जिल्लामा बर्खे धानसँगै करिब १ हजार २१० हेक्टर क्षेत्रफलमा चैते धानखेतीसमेत हुँदै आएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार  १५ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।