काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म बैंक तथा वित्तिय संस्थाहरुले शेयर धितोमा १ खर्ब ४६ अर्ब १४ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को कात्तिक महिनासम्मको अवधिमा अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा लगानी वृद्धि गरेका हुन् ।
बैंकहरुले लगानी गरेको उक्त धितो कर्जा लगानी गत असार मसान्तको भन्दा ३.९ प्रतिशत धेरै हो । गत असारसम्म बैंक तथा वित्तिय संस्थाहरुले १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ लगानी गरेका थियो । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा प्रवाह बढेको हो ।
उक्त शेयर धितो कर्जा गत आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिको तुलनामा २९.२५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब १३ अर्ब ६ करोड ७८ लाख रुपैयाँ शेयर धितो कर्जा प्रदान गरेका थिए ।
चार महिनाको अवधिमा १ करोड रुपैयाँ भन्दा बढीको सेयर धितोमा ४ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी भएको छ । गत असारसम्म १ करोड भन्दा माथिको कर्जा लगानी ९८ अर्ब ९२ करोड रुपेयाँ रहेको थियो । कात्तिक मसान्तसम्म कर्जा लगानी बढेर १ खर्ब ३ अर्ब ३ करोड रुपैयाँ पुगेको हो ।
यसैगरी ५० लाख भन्दा माथि १ करोडसम्मको शेयर धितो कर्जा १६ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म शेयर धितो कर्जा १७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी, २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जा ८ अर्ब ५५ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकले दिए १ खर्ब बढी शेयर धितो कर्जा
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकले मात्रै शेयर लगानीकर्ताहरुलाई १ खर्ब २३ अर्ब ४३ करोड २१ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । बैंकले प्रवाह गरेको शेयर धितो कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३५.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको कात्तिकसम्ममा वाणिज्य बैंकले शेयर धितो कर्जा मार्फत ९१ अर्ब २१ करोड १४ लाख रुपैयाँ प्रदान गरेका थिए ।
यसअवधिमा एनआईसी एशिया बैंकले ७० प्रतिशत र नेपाल बैंकले ७.४ प्रतिशतले उक्त कर्जा घटाएका छन् भने अन्य बैंकहरुको उल्लेख्य बढेको छ । यसअवधिसम्ममा नबिल बैंकले सर्वाधिक शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकको उक्त कर्जा ४३ प्रतिशतले बढेर १५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
साथै, ग्लोबल आइएमई बैंकको शेयर धितो कर्जा १८ प्रतिशतले बढेर १३ अर्ब १९ करोड पुगेको छ भने कुमारी बैंकको २० प्रतिशतले बढेर ९ अर्ब ९८ करोड रुपैयाँले बढेको छ ।
यस्तै, प्राइम बैंकको ७८ प्रतिशतले बढेर ९ अबै ९८ करोड, सिद्धार्थ बैंकको १२ प्रतिशतले बढेर ८ अर्ब ८७ करोड, लक्ष्मी सनराइज बैंकको ८ अर्ब २७ करोड र राष्ट्रिय वाणिज्य बैंकको शेयर धितो कर्जा लगानी ७ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
विकास बैंकहरुले दिए झण्डै १९ अर्ब शेयर धितो कर्जा
कात्तिक मसान्तसम्मको अवधिमा विकास बैंकले १८ अर्ब ८८ करोड ८६ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ७.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको कात्तिक महिनासम्म विकास बैंकहरुले १७ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरुमा सबैभन्दा बढी शेयर धितो कर्जा प्रवाह गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकको शेयर धितो कर्जा १५.७१ प्रतिशतले बढेर ३ अर्ब ८० करोड २० लाख रुपैयाँ रहेको हो ।
त्यस्तै, समिक्षा अवधिमा गरिमा विकास बैंकको ५.६० प्रतिशत, महालक्ष्मी विकास बैंकको १०.८९ प्रतिशत र सिन्धु विकास बैकको २६.४१ प्रतिशतले शेयर धितो कर्जा प्रवाह घटेको छ ।
फाइनान्सको शेयर धितो कर्जा ९.६८ प्रतिशतले घट्यो
कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरुले ३ अर्ब ८२ करोड २९ लाख रुपैयाँ धितोृ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही महिनाको अवधिमा ९.६८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सहरुले ३ अर्ब २३ करोड २७ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा फाइनान्सहरुमा सबैभन्दा बढी शेयर धितो कर्जा प्रवाह गर्नेमा आइसिएफसि फाइनान्स रहेको छ । कम्पनीको उक्त कर्जा १४.६९ प्रतिशतले बढेको हो । कात्तिक मसान्तसम्म कम्पनीले ४६ करोड ५६ लाख रुपैयाँ पुगेको कर्जा लगानी गरेको छ ।
गत वर्षको भन्दा सेन्ट्रल फाइनान्सले भने शेयर धितो कर्जा १५१ प्रतिशतले बढेको छ । कात्तिक मसान्तसम्म कम्पनी १८ करोड ५५ लाख रुपैयाँ शेयर धितो कर्जा लगानी गरेको हो ।












प्रतिक्रिया