स्याङ्जा । वालिङ यहाँको एउटै समूहले यस वर्ष ८७ लाख रुपैयाँ मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा ८७ लाख रुपैयाँ भित्र्याएको हो ।
विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिए ।
अर्बकुना सुन्तला समूहमा हाल ३१ सुन्तलाखेती गर्ने किसान आबद्ध छन् । “समूहमा आबद्ध हुनुभएका सबै किसानले न्यूनतम १ लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्”, उनले भने, “केही मात्रामा कोदो, मकै हुने जमिनबाट अहिले प्रत्येक घरले नगदेबालीका रूपमा सुन्तलाखेती गरेसँगै राम्रो आम्दानी हुने गरेको छ ।”
पछिल्लो समय गाउँमा रहेका सबै घरलाई समूहमा आबद्ध गराएर एकापसमा मिलेर सुन्तलाखेतीलाई विस्तार गर्दै गएकाले आगामी वर्षहरूमा सुन्तलाको उत्पादन र आम्दानी वृद्धि हुने दाबी अध्यक्ष सेनको छ । “पुराना बोटबाट सुन्तला उत्पादन भइरहेको छ, नयाँ बोट थप्ने क्रम निरन्तर रूपमा चलिरहेको छ”, उनले भने “आगामी वर्षमा मात्रै यस समूहबाट १ करोड रुपैयाँ बढीको सुन्तला बिक्री गर्छौँ, त्यसपछिका वर्षहरूमा त झनै वृद्धि हुँदै जान्छ ।”
यहाँ उत्पादन भएको सुन्तला किसान स्वयं वा समूहमार्फत पनि बिक्री गर्ने गरिएको छ । यहाँका किसानले सुन्तला खरिदका लागि आएका स्थानीय व्यापारीलाई बगैँचा नै ठेक्कामा दिने गरेका छन्भने केही किसानले फुटकर रूपमा बिक्री गरेका हुन् ।
किसानले बोटमा भएको उत्पादनका आधारमा व्यापारीसित बोलकबोल गरेर मूल्य निर्धारण गर्छन् । केही किसानले प्रतिकेजी ६०–७० रुपैयाँका दरले व्यापारीलाई सुन्तला बिक्री गरेका हुन् । यहाँ उत्पादन भएको सुन्तला र त्यसको आम्दानीको हिसाबकिताब समयसमयमा समूहमार्फत हुने गरेको छ । सामूहिक रूपमा बैठक बसेर बजारीकरण, मूल्य निर्धारण, आइपरेका समस्या र त्यसको समाधानका विषयमा छलफल गरी समाधान निकाल्ने गरिएको उनले बताए ।
स्वादिष्ट सुन्तला उत्पादनका दृष्टिले स्याङ्जाको पहिचान छुट्टै किसिमको रहेको छ । जिल्लामा सुन्तला उत्पादनको सम्भावना र यसको विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन सञ्चालनमा रहेको छ । विसं २०७३÷७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन हुँदै सुपरजोनमा परिणत भएसँगै सुन्तलाको बगैँचा विस्तारले तीव्रता पाएको हो ।रासस










प्रतिक्रिया