पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित


खाँदबारी । सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल भएका उनलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो ।

आज यहाँ आयोजित कार्यक्रममा पाँचखपन–६ का वडाध्यक्ष विष्णु श्रेष्ठले थापालाई नगद ३० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । यहाँका किसानलाई सहज रूपमा खेती गर्ने वातावरण सिर्जना गर्दै उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम लागू गरिएको उनले जानकारी दिए ।

किसानको मेहनतलाई सम्मान नगरी कृषि क्षेत्रको दिगो विकास सम्भव नहुने उल्लेख गर्दै उनले यस्ता पुरस्कारले अन्य किसानलाई पनि व्यावसायिक खेतीतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

किसान थापाले परम्परागतखेती प्रणालीलाई सुधार गर्दै आधुनिक प्रविधि, उन्नत जातका बीउ, समयमा मलखादको प्रयोग, नियमित सिँचाइ व्यवस्थापन, निरन्तर मेहनतलगायत कारणले बढी उत्पादन सम्भव भएको बताए । सफलताका लागि परिवारको साथ, स्थानीय सरकारको सहयोग र निरन्तर परिश्रम प्रमुख कारण भएको उनको भनाइ छ ।

थापाको सफलताबाट सिकेर यहाँका कतिपय किसानले धानखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन थालेका वडाध्यक्ष श्रेष्ठले बताए । स्थानीय सरकारले किसानलाई सम्मान र प्रोत्साहन दिने नीति अवलम्बन गरेसँगै कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सकिने किसानको विश्वास छ ।

पाँचखपन–६ ले आगामी दिनमा पनि उत्पादनमा आधारित अनुदान, किसानलाई सम्मान, तालिम, बीउ तथा प्रविधि सहयोगलगायत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार  १६ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।