सिटिजन्स सन्तुलित योजनाको इकाईका लागि आजदेखि आवेदन दिन सकिने


काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजनाको इकाई आजदेखि निष्काशन गर्ने भएको छ ।

सिटिजन्स क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्रीमा ल्याउन लागेको हो। जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबर्द्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सो योजनामा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। निष्काशन बन्द छिटोमा पुस ८ गते हुनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा पुस १८ गतेसम्म निष्काशन अवधि लम्बिन सक्छ।

१० वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

इकाई निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कोष प्रबर्द्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस दिएको छ भने योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  ०९ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।