भारत सरकारले श्रीलङ्कालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्माण सहयोग प्रदान गर्ने घोषणा गरेको छ । भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले मङ्गलबार श्रीलङ्काको भ्रमणका क्रममा उक्त सहयोगको जानकारी दिएको हो ।
गत महिना दक्षिण एसियाली टापु राष्ट्र श्रीलङ्कामा आएको चक्रवात दितवाहका कारण ६४० भन्दा बढी मानिसको ज्यान गएको थियो । आँधीसँगै आएको भीषण वर्षाले बाढी र भूस्खलन निम्त्याउँदा ठूलो जनधनको क्षति भएको थियो । विश्व बैंकका अनुसार यस प्रकोपले करिब चार अर्ब डलर बराबरको आर्थिक क्षति पुर्याएको छ, जुन देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब चार प्रतिशत बराबर हो ।
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले उक्त चक्रवातबाट २० लाखभन्दा बढी मानिस प्रभावित भएको बताउँदै यसलाई टापुको इतिहासमै सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक विपद् भएको रूपमा वर्णन गरेका छन् ।
दुई दिने आधिकारिक भ्रमणमा रहेका विदेशमन्त्री जयशङ्करले कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र राष्ट्रपति दिसानायकलाई हस्तान्तरण गरेका हुन् । जसमा ४५ करोड मिलियन डलरको पुनर्निर्माण प्याकेज उपलब्ध गराउने प्रतिबद्धता उल्लेख रहेको जानकारी दिए । उनका अनुसार उक्त सहयोगमध्ये ३५ करोड डलर सहुलियतपूर्ण ‘लाइन अफ क्रेडिट’ का रूपमा उपलब्ध गराइनेछ भने बाँकी १० करोड डलर अनुदानका रूपमा प्रदान गरिनेछ ।
जयशङ्करले चक्रवातपछि भारतले तत्काल रूपमा श्रीलङ्कालाई औषधि, अत्यावश्यक उपकरणसहित एक हजार १०० टन राहत सामग्री पठाएको कुरा पनि स्मरण गराए । “क्षतिको परिमाण अत्यन्त ठूलो भएकाले यातायात तथा सम्पर्क पुनःस्थापना तत्काल प्राथमिकता थियो”, उनले भने । यसका लागि भारतीय सेनाले पोर्टेबल पुल उपलब्ध गराएर सहयोग गरेको विवरण पनि उनले प्रस्तुत गरे ।
उनले भारतले श्रीलङ्कामा भारतीय पर्यटन प्रवर्द्धन गर्ने, लगानी विस्तार गर्ने र अन्य माध्यमबाट आर्थिक क्षति न्यूनीकरणमा सहयोग गर्ने उपायहरू पनि अघि बढाइरहेको जानकारी दिए । “भारतबाट प्रत्यक्ष विदेशी लगानीमा भएको वृद्धिले यो कठिन समयमा श्रीलङ्काको अर्थतन्त्रलाई थप ऊर्जा दिन सक्छ”, उनले भने ।
चक्रवात आएको समयमा श्रीलङ्का सन् २०२२ मा भोगेको गम्भीर आर्थिक सङ्कटबाट क्रमशः बाहिर निस्कँदै थियो । खाद्यान्न, इन्धन र औषधि जस्ता अत्यावश्यक वस्तु आयात गर्न विदेशी मुद्रा भण्डार अत्यधिक खपत भएपछि देश गहिरो सङ्कटमा परेको थियो । सन् २०२३ को सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट दुई अर्ब ९० करोड डलरको राहत प्याकेज स्वीकृत भएपछि अर्थतन्त्र केही हदसम्म स्थिर हुँदै आएको छ ।
भारतको पछिल्लो सहयोगले प्राकृतिक विपद् र आर्थिक चुनौती दुवैसँग जुधिरहेको श्रीलङ्कालाई पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणतर्फ अघि बढ्न महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया