काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको सिटिजन्स म्युचुअल फण्ड अन्तरगत निष्काशन भएको सिटिजन्स सन्तुलित योजनाका इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त योजनाका इकाई पुस ४ गतेदेखि निष्काशन भएको थियो ।
सो योजनामा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । छिटोमा पुस ८ गते इकाई निष्काशन बन्द गर्ने भनिए पनि उल्लेख्य मात्रामा आवेदन नआउँदा ढिलोमा निष्काशन बन्द हुने मिति पुस १८ गतेसम्म निष्काशन अवधि लम्बिएको थियो । सोही अनुसार योजनाको इकाइ खरिदका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सकिने सिटिजन्स क्यापिटलले जनाएको छ ।
केन्द्रिय निक्षेप प्रणाली (सीडीएससी) का अनुसार पुस १८ गते शुक्रबार बिहान १० बजेसम्ममा १२ करोड ८३ लाख ४६ हजार ५४० इकाइका लागि आवेदन परेको छ । सिडिएससीका अनुसार ७२ हजार २४५ वटा आवेदनबाट उक्त संख्यामा फण्डका इकाई माग भएका हुन् ।
सिटिजन्स क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
१० वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।










प्रतिक्रिया