मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो


झापा । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँ मूल्यबराबरको २ लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा ३२ प्रतिशतले निर्यात बढेको हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा ३६ करोड ७६ लाख २३ हजार रुपैयाँ मूल्यबराबरको २ लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको उनले बताए।

गत आवको तुलनामा चालु आवमा छुर्पीको निर्यात ११ करोड ७६ लाख ५० हजार रुपैयाँले बढेको जनाइएको छ । नेपाली छुर्पी निर्यात हुने मुख्य नाका नै काँकरभिट्टा हो । मेची भन्सारबाट निर्यात हुने प्रमुख १० मालवस्तुको सूचीमा छुर्पी चौथो स्थानमा छ ।

पहाडी तथा हिमाली जिल्लामा दुग्धजन्य वस्तुबाट छुर्पी उत्पादन हुन्छ । निर्यात भएर अधिकांश छुर्पी युरोप र अमेरिका पुग्ने गरेको छ । ती मुलुकमा यसलाई कुकुर र बिरालोको खानाका रूपमा प्रयोग गर्छन् ।

नेपाल छुर्पी व्यवसायी सङ्घका महासचिव ऋषि तिम्सिनाले नेपालमा उत्पादन हुने छुर्पीको ८० प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको बताए। नेपालबाट निर्यात हुने प्रमुख उत्पादन छुर्पीको उत्पादन र व्यवसाय प्रवर्द्धनका लागि सरकारले ध्यान दिन नसकेको महासचिव तिम्सिनाले गुनासो गरे।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।