सन् २०२५ मा विश्वभर रोबोट आपूर्तिमा चीन शीर्षस्थानमा


शाङ्घाइ । एक उद्योगसम्बन्धी प्रतिवेदनले सन् २०२५ मा विश्वभर रोबोट उत्पादनमा चिनियाँ कम्पनीहरू सबैभन्दा अगाडि रहेको खुलासा गरेको छ । यसले उदाउँदो निर्माण क्षेत्रमा चीनको तीव्र प्रगतिलाई स्पष्ट रूपमा देखाएको छ ।

लन्डनस्थित प्रविधि परामर्श संस्था ओमडियाले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार शाङ्घाइस्थित एजीबोटले वार्षिक पाँच हजार एक सयभन्दा बढी रोबोट आपूर्ति गर्दै विश्व बजारको ३९ प्रतिशत हिस्सा हासिल गरेको छ । आपूर्ति संख्या र बजार हिस्साको आधारमा कम्पनी विश्वमै पहिलो स्थानमा रहेको छ ।

यसपछि हाङझाउस्थित युनिट्री र सेन्जेनस्थित युबिटेक क्रमशः चार हजार दुई सय र एक हजार एकाइ आपूर्तिसहित दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । एजीबोट र युबिटेकका रोबोटहरू मुख्यतः व्यावसायिक र औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका छन् भने युनिट्रीका रोबोटहरू अनुसन्धान, शिक्षा र उपभोक्ता बजारमा व्यापक रूपमा प्रयोग हुँदै आएका छन् ।

गत वर्ष लेजु रोबोट, इन्जिनएआई र फोरियरजस्ता अन्य चिनियाँ उत्पादकहरूसँगै अमेरिकाका फिगर एआई, एजिलिटी रोबोटिक्स र टेस्लाले पनि एक सय ५० देखि ५ सय एकाइसम्म आपूर्ति गरेका थिए । विश्वभर वार्षिक रूपमा करिब १३ हजार रोबोट आपूर्ति भएको अनुमान गरिएको छ ।

उत्पादन प्रतिस्पर्धात्मकताका आधारमा एजीबोट, फिगर एआई, टेस्ला, युबिटेक र युनिट्रीलाई अग्रपंक्तिका कम्पनीका रूपमा प्रतिवेदनले उल्लेख गरेको छ । इन्जिनएआई र युबिटेकसहितका चिनियाँ रोबोट उत्पादकहरूले आगामी दिनमा उत्पादन क्षमता बढाउने योजना बनाइरहेका छन् ।

एजीबोटका प्रमुख वैज्ञानिक लो जियानलानका अनुसार सन् २०२६ रोबोट उद्योगका लागि महत्वपूर्ण मोड सावित हुने वर्ष हो, जहाँ सीमित क्षमताबाट उच्च कार्यसम्पादन र व्यवहारिक प्रयोगतर्फ उद्योग अग्रसर हुनेछ ।

उनका अनुसार प्रयोगमा ल्याइने रोबोटको संख्या बढ्दै जाँदा वास्तविक प्रयोगबाट प्राप्त तथ्याङ्कसमेत बढ्नेछ, जसले अझ प्रभावकारी प्रणाली विकास गर्न सहयोग पुर्याउनेछ ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार  ०९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।