६ महिनामा साढे १० खर्ब बढी रेमिट्यान्स भित्रियो, वार्षिक ३९.१ प्रतिशतले वृद्धि


काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशत अर्थात् दुई खर्ब ९९ अर्ब ८५ करोड रुपैयाँले बढी हो ।

गत आवको ६ महिनामा सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जबकी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।

गत पुस महिनामा मात्रै विप्रेषण आप्रवाह एक खर्ब ९२ अर्ब ६२ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा मात्रै एक खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

यससँगै चालु आवको ६ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले वृद्धि भई सात अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २।७ प्रतिशतले बढेको थियो । गत आवको सोही अवधिमा पाँच अर्ब ५८ करोड अमेरिकी डलर रेमिट्यान्स रहेको थियो ।

सो अवधिसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९४ हजार ७३३ जना रहेको छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ३० हजार ४३९ र एक लाख ६२ हजार ६२८ जना रहेको थियो ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार  ०७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।