झापामा असोजमा २२ विपद्का घटना, १० करोड बढीको क्षति


झापा । झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनामा ठूलो आर्थिक नोक्सानी हुनुका साथै मानवीय जोखिमसमेत देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा भएका विपद्का घटनामध्ये आगलागीबाट सबैभन्दा बढी क्षति भएको छ । यस अवधिमा जिल्लाका विभिन्न स्थानमा १२ वटा आगलागीका घटना भएका छन् । ती घटनामा एक जना घाइते भएका छन् भने १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

यसैगरी, जङ्गली जनावरको आक्रमणका नौ वटा घटना भएका छन् । ती घटनाबाट तीन लाख ८९ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ । जङ्गली जनावरको आक्रमण तथा जोखिममा परेका चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, चट्याङको एउटा घटनाबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीले आगलागीबाट जोगिन विद्युतीय उपकरण तथा आगोको प्रयोगमा सावधानी अपनाउन र वन तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई जङ्गली जनावरबाट सुरक्षित रहन सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८३, मंगलबार  १० : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।