नेपालपे कार्ड इनेबल गर्ने पहिलो बैंक बन्यो सिटिजन्स


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच इएफटी कार्ड स्वीच तथा सर्भिसेस् मार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्ने सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

यससँगै सिटिजन्स बैंक नेपालपे कार्डको अक्वायरिङ तथा इस्यूइङका लागि इएफटी कार्ड स्वीचमा औपचारिक रूपमा आवद्ध हुने पहिलो सदस्य बैंक बनेको छ। सम्झौतापछि बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न र उक्त कार्ड अक्वायर गर्न सक्नेछ। पहिलो चरणमा बैंकले आफ्ना १६८ वटा एटीएम र ४९१ वटा पीओएस टर्मिनलमार्फत नेपालपे कार्डको अक्वायरिङ सुरु गर्ने जनाएको छ भने क्रमशः ग्राहकलाई कार्ड वितरण पनि गरिनेछ।

एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीचसँग इन्टिग्रेट भइसकेको छ। नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु भइसकेको र अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने जानकारी दिइएको छ। नेपालपे सञ्चालनमा आएसँगै नेपाल तथा विदेशका एटीएम र पीओएस टर्मिनलमा समेत उक्त कार्ड प्रयोग गर्न सकिनेछ भने डिस्कभर कार्ड पनि नेपालमा स्वीकार गरिनेछ।

हाल एनसीएचएलको इएफटी सर्भिसेस् मार्फत १० वटा बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किम प्रोसेस गर्दै आएका छन्। इएफटी र नेशनल पेमेन्ट स्वीचबीचको इन्टिग्रेसनपछि नेपालपे कार्ड पनि प्रोसेस गर्न सकिने भएको हो। हालसम्म नेपालपेमा ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध भइसकेका छन्।

नेपालका अग्रणी बैंकमध्ये एक सिटिजन्स बैंक इन्टरनेसनलले हाल १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। देशभर बैंकका १९७ शाखा, ३ विस्तारित काउन्टर, ७४ शाखारहित बैंकिङ सेवा र १६२ एटीएम सञ्चालनमा छन् भने चार लाखभन्दा बढी कार्डहोल्डर ग्राहक रहेका छन्।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।