झण्डै १३ लाख कित्ता आईपिओमा २ दिनमा १३ लाखभन्दा बढी आवेदन


साधारण सेयरमा पछिल्ला वर्षहरुमा बढेको आकर्षणले निरन्तरता पाइरहेको छ । झण्डै दशक पहिलेसम्म साधारण सेयरमा निष्काशनका क्रममा पुरा सेयर बिक्री नभएर आवेदन अवधि बढाउनेसम्मका अभ्यास भएका थिए ।

मंगलबारदेखि सर्वसाधारणसमा निष्काशन भएको सुपर खुदी हाइड्रोपावरको साधारण सेयरमा २ दिनमा निष्काशित सेयरभन्दा बढी संख्यामा आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणमा १२ लाख ८६ हजार ५०० कित्ता सेयर निष्काशन गरिरहेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार साँझ ५ बजेसम्ममा उक्त कम्पनीको सेयरमा १३ लाख ३५ हजार ३६३ जनाले आवेदन दिएका छन् । उल्लेखित आवेदनबाट १ करोड ४९ लाख ७१ हजार ५६० कित्ता सेयर माग भएको सिडिएससीले जनाएको छ ।

अंकित मूल्य १०० रुपैयाँको दरमा निष्काशित सेयरमा लगानीकर्ताहरुले १ अर्ब ४९ करोड ७१ लाख ५६ हजार रुपैयाँको आवेदन दिएका हुन् । बुधबार बिहानसम्ममा नै झण्डै ११ लाखवटा आवेदन परेको आईपिओमा बुधबार दिउँसो ७ घण्टाको अवधिमा झण्डै २ लाखवटा आवेदन परेको हो ।

सिडिएससीको पछिल्लो तथ्यांक अनुसार कुल डिम्याट खाता खोल्नेको संख्या ७४ लाख ७३ हजार ७९९ छ । उल्लेखित सबै डिम्याटखाता धारकको १८ प्रतिशतभन्दा धेरैले सुपर खुदी हाइड्रोपावरको साधारण सेयरमा आवेदन दिएका हुन् ।

 

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार  १७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।