प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित


गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ ।

एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण वायुसेवा निगमको गत आइतबार र मङ्गलबारको उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

निगमले उडान तालिकामा परिवर्तन गरेसँगै रेसुङ्गा विमानस्थलबाट आइतबार, मङ्गलबार र शनिबार गरी सातामा तीन पटक मात्र उडान हुँदै आएको छ । निगमका हाल तीन वटा मात्र ‘ट्वीनअटर’ जहाज रहेको र उक्त जहाजहरु समय समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाज अभावमा उडान तालिकामा परिवर्तन गरेको जनाएको छ ।

हाल काठमाडौँबाट गुल्मीका लागि ७ हजार ५०० रुपैयाँ र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार  १३ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।