काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। विभागमा विचाराधीन राजस्व चुहावट सम्बन्धी अनुसन्धानलाई मिलाइदिने भन्दै ७० लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको हो।
आयोगको अनुसन्धान अनुसार अधिकारीले एच.के. इन्टरप्राइजेज प्रा.लि. माथि भइरहेको राजस्व चुहावट सम्बन्धी छानबिनबाट जोगाइदिन र अन्य कानुनी कारबाहीमा सहजीकरण गरिदिए बापत उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठ (विज्यू) बाट ७० लाख रुपैयाँ घुस लिएका थिए।
अधिकारीले उक्त घुस रकमको स्रोत लुकाउन र त्यसलाई वैध बनाउन (सम्पत्ति शुद्धीकरण गर्न) विकास चापागाईँ, देवेन्द्र के.सी. र रवीन्द्र लामिछाने लगायतका व्यक्तिहरूको बैंक खाता प्रयोग गरेको अख्तियारले जनाएको छ। ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका वित्तीय संस्थाहरूमा रहेका ती व्यक्तिहरूको खातामा रकम जम्मा गरी ओसारपसार गरिएको पाइएको छ।
भ्रष्टाचार गरी आर्जन गरिएको उक्त ७० लाख रुपैयाँ अधिकारीले घरजग्गा खरिद र अन्य व्यावसायिक प्रयोजनमा लगाएको पुष्टि भएको आयोगको दाबी छ ।
अख्तियारले अधिकारीसहित यस कार्यमा संलग्न अन्य मतियारहरूलाई समेत प्रतिवादी बनाउँदै बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी सहित मुद्दा दायर गरेको हो।












प्रतिक्रिया