काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा देखिएको पेट्रोलियम पदार्थ र ग्यासको अभाव हुनुमा नेपाल आयल निगमको कमजोरी औँल्याएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले बजारमा देखिएको ग्यासको समस्या मध्यपूर्वको तनावका कारण नभई निगमको व्यवस्थापकीय कमजोरी र वास्तविक सूचना लुकाउने प्रवृत्ति मुख्य जिम्मेवार रहेको दाबी गरेका छन् । उनले खाना पकाउने ग्यासको अभाव हुनुमा कालोबजारीले पनि काम गरेको दाबी गरे ।
‘सामान्य अवस्थामा दैनिक ९० बुलेट ग्यास आउने गरेकोमा अहिले भारतबाट १२५ बुलेटसम्म आइरहेको छ । आपूर्ति बढेको अवस्थामा पनि बजारमा अभाव देखिनुले नेपाल आयल निगमको असक्षमता र व्यवसायीको मिलेमतोमा कालोबजारी भइरहेको पुष्टि हुन्छ ।’ उनले भने, ‘निगमले वाणिज्य विभाग जस्तो नियमनकारी निकायलाई समेत सही सूचना नदिएर गल्ती गरेको छ ।’
उनले खाने तेलको मूल्यमा प्रतिलिटर ५० देखि १०० रुपैयाँसम्म भएको वृद्धिलाई व्यवसायीहरूले अन्तराष्ट्रिय युद्धलाई बाहाना बनाएर मूल्य बढाएकोमा आपत्ति जनाए । ‘खाने तेल खाडी मुलुकबाट आउने होइन, यो युक्रेन, कजाकिस्तान, मलेसिया र सिंगापुर जस्ता देशबाट आउँछ। इन्धनको मूल्य बढ्दा तेलको मूल्यमा यसरी मनोमानी वृद्धि गर्नु उपभोक्तामाथिको लुट हो ।’
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०३ डलर प्रति ब्यारल पुगेको अवस्थामा १५ रुपैयाँ बढ्नुलाई उनले स्वाभाविक रूपमा लिन सकिने बताए । यद्यपि, बजारमा मलदेखि सुनसम्मको तस्करी बढ्नु र त्यसले स्वस्थ प्रतिस्पर्धालाई असर गर्नु चिन्ताको विषय भएको उनको भनाइ थियो ।
नयाँ सरकार गठनको संघारमा कर्मचारी र प्रशासनमाथि राजनीतिक थ्रेट आउन थालेको बताए । ‘प्रशासनलाई यो निर्णय गर, त्यो नगर भनेर आदेश र थ्रेट आउन थालेको सुनिन्छ, यसले बजार थप अस्थिर बनाउन सक्छ,’ महर्जनले भने ।
कार्यक्रममा वाणिज्य विभागका निर्देशक नरहरि तिवारी, काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्व बज्राचार्य लगायतको उपस्थिति थियो ।












प्रतिक्रिया