३ करोड ६८ लाख बिगो दाबी गरिएका पूर्वसांसद सन्तोष चालिसे ५ लाख धरौटीमा छुटे


 काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा ३ करोड ६८ लाख रुपैयाँ बिगो दाबी गरिएका नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसे ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। विशेष अदालतले सोमबार थुनछेक बहसपछि उनलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेले सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी ३ करोड ६८ लाख ४७ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो ।

गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर तथा प्रतिनिधि सभाको अर्थ समितिका निवर्तमान सभावति समेत रहेका चालिसेमाथि अख्तियारले झुट्टा सम्पत्ति विवरण पेश गरेको आरोप पनि लगाएको छ। अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले गैरकानुनी आर्जन गरेको अभियोग लगाएको थियो । । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ ।

अवैध रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अख्तियारले चालिसेसहित उनको परिवारका सदस्यहरूलाई समेत प्रतिवादी बनाएको छ। अदालतको यो आदेशपछि अब उनी बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार  १६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।