काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल प्रणालीमार्फत सहज र प्रभावकारी बनाउने लक्ष्यसहित स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग सहकार्य सुरु गरेको छ ।
स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच हस्ताक्षर भएको सम्झौतापत्रअनुसार अब स्वास्थ्य बीमामा नागरिकको छुट्टै कार्ड नबनाई एनआईडी नम्बरकै आधारमा सेवा लिन सकिनेछ । सम्झौतामा राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत गरिने तयारी भइरहेको छ ।
मल्लले भने, ‘एनआईडी नम्बरसँग प्रणाली जोडिएपछि डाटा प्रमाणीकरण सहज हुनेछ, दोहोरो दर्ता कम हुनेछ र कार्डको दुरुपयोग घट्नेछ ।’
हाल करिब एक करोड नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन् । तर म्यानुअल प्रणालीका कारण कतिपय स्थानमा विवरण दोहोरिने, उमेर वा विवरण नमिल्ने र गलत प्रयोग हुने समस्या देखिएको थियो । नयाँ डिजिटल प्रणालीमार्फत नागरिकले स्वयं अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुने वा नवीकरण गर्ने सुविधा पाउनेछन् ।भविष्यमा बायोमेट्रिक प्रमाणीकरणसमेत लागू गर्ने योजना रहेको छ ।
नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा झन्झट हट्नेछ र नागरिकले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् ।












प्रतिक्रिया