काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म सरकारको ऋणभार २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । जसअनुसार प्रत्येक नेपालीको थाप्लोमा ९८ हजार ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब रुपैयाँ र बाह्य ऋण १५ खर्ब ३० अर्ब रुपैयाँ पुगकेो छ ।
सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४७.१३ प्रतिशत रहेको छ ।
सरकारको यस्तो ऋण दायित्व चालु आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब रुपैयाँ थियो । साउन देखि फागुनसम्ममा सार्वजनिक ऋण २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ थपिएको हो । कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३।१६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६।८४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्नै लक्ष्य लिएको छ । यो लक्ष्य अनुसार फागुन सम्ममा २ खर्ब ९५ अर्ब रुपैयाँ थप ऋण लिएको छ ।

यस्तो ऋणको लागि सरकारले २ खर्ब ४२ अर्ब रुपैयाँ भुक्तानी पनि गरिसकेको छ । यो आर्थिक वर्षमा सरकारले ४ खर्ब ११ अर्ब रुपैयाँ ऋणको सावा व्याजवापत भुक्तानी गर्ने लक्ष्य लिएको छ ।
चालु आर्थिक वर्ष २०८२-८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब वार्षिक बजेट रहेकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ५८।९४ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ३.९७ प्रतिशत हो ।
चालु आवको ८ महिनामा सरकारले २ खर्ब ४ अर्ब ८० करोड आन्तरिक ऋण तथा ३७ अर्ब ४६ करोड बाह्य ऋणको दायित्व घटाएको छ । फागुनमसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ९४ अर्ब १९ करोड र ब्याज भुक्तानीमा ४८ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ ।












प्रतिक्रिया