काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा ४० अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार (साउन–फागुन) महिनासम्म ५५४ वटा उद्योगमा ४० अर्ब ६६ करोड ९३ लाख ८० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।
गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्ष उद्योगको संख्या बढे पनि रकम भने घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४२७ उद्योगमा ४४ अर्ब ६६ करोड ३ लाख ७३ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो । गत आवको ८ महिनामा ४१५ साना, ८ मध्यम र ४ ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको थियो । चालु आवमा ५३७ साना उद्योग, ८ मझौला र ८ ठूला उद्योगमा लगानी प्रतिवद्धता प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
सूचना प्रविधिमूलक क्षेत्रमा सबैभन्दा धेरै प्रतिवद्धता
चालु आर्थिक वर्षको आठ महिनामा सूचना प्रविधिमूलक क्षेत्रका सबैभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ । गत साउनदेखि फागुनमहिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका ३०७ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ ।
रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १४ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका ३७ उद्योगमा २ अर्ब ५२ करोड ५६ लाख रुपैयाँ, पर्यटनमूलक क्षेत्रका १५५ उद्योगमा ११ अर्ब २० लाख रुपैयाँ र सेवामूलक क्षेत्रका ३८ उद्योगमा ३ अर्ब ६२ करोड ८० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १२७ उद्योगका लागि २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ प्रतिवद्धता आएको छ । त्यसैगरी, भदौमा १०९, असोजमा ७५, कात्तिकमा ७१, मङ्सिर महिनामा ५६, पुसमा ३७, माघमा ४९ र फागुमा ३० उद्योगका लागि लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया