फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो ३ करोड


चितवन । भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका–११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि आवश्यक ३ करोड रुपैयाँ बजेट कार्यपालिकाले सुनिश्चित गरेको छ ।

महानगरपालिकाले यसअघि नै ५ करोड १९ लाख ७५ हजार रुपैयाँ भुक्तान गरिसकेको छ । मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन तयार भई स्वीकृत भएपछि रकम भुक्तान गर्न भनेको अधिकारीले जानकारी दिए।

उनका अनुसार वातावरण प्रभाव मूल्याङ्कनका लागि आवश्यक तथ्याङ्क र कागजातहरु उपलब्ध गराई सकिएको छ । मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि रूख कटान थाल्ने आश्वासन दिएको छ ।

जग्गा भोगाधिकार र एक बिरुवा कटान गरे बापत १० बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षणका लागि महानगरले यसअघि नै ५ करोड १९ लाख ७५ हजार रुपैयाँ भुक्तान गरेको महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विराट घिमिरेले बताए। अब रोपिने बिरुवा संरक्षणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको हो ।

हाल महानगरपालिकामा दैनिक ८० टन भन्दा बढी फोहोर सङ्कलन हुने गरेको छ जसलाई आँपटारीको नजिकै खोल्सामा व्यवस्थापन हुँदै आएको छ ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार  १५ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।