नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग


काठमाडौँ । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रवार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई अटो हस्तान्तरण गरेको जनाइएको छ ।

कार्यक्रममा आश्रमका अभिभावक पवन सिंघानियाले आश्रमको सेवाप्रवाह तथा दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त अटोका कारण थप सहज हुने विश्वास व्यक्त गरे ।

बैंकका सिइओ ज्ञवालीले सडक आश्रित मानवहरुको उचित व्यस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको बताए ।

उनले मानवजातिका सेवा र हितसँग जोडिएका हरेक काम गर्न नबिल बैंक तयार रहेको उल्लेख गर्दै मानवसेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व वहन गर्नु जस्तै भएकाले भविष्यमा यस्ता कार्यका लागि साझेदारी गर्न बैंक तयार रहेको धारणा राखे ।

मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले अटोको अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवहरुलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए । यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोगस्वरुप प्राप्त अटोबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए ।

‘सडक आश्रित मानवको उद्धार तथा आश्रममा दिने दैनिक सेवा तथा सहयोगमा समस्या बेहोरिरहेका थियौं । अटो प्राप्त भएपछि यो सेवालाई सहज बनाउन सकिने विश्वास लिएका छौं । नबिल बैंकप्रति हामी आभारी छौं,’ उनले भने ।

बैंकले यसअघि पनि मानवसेवा आश्रमलाई दुईवटा उद्धार वाहन उपलब्ध गराएको थियो ।

घरपरिवार र आफन्तविहीन खुला आकाशमुनी वेवारिसे रुपमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगपेक्षी सडक आश्रित मानवलाई न्यूनतम मानवीय सेवा उपलब्ध गराई मर्यादित जीवन जीउने आधार सुनिश्चित गर्ने उद्देश्यका साथ मानवसेवा आश्रम २०६० सालदेखि मा आएको हो । आश्रमले सात वटै प्रदेशमा सेवा केन्द्र विस्तार गरी १३ हजार जनाको उद्दार गरेको जनाएको छ ।

नबिल एसएसई मार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना मार्फत दिगो विकासमा योगदान पु¥याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।