इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

AI GENERATED IMAGE

मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय मात्रै नभइ, विश्वव्यापी असर गहिरिँदै गएको सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अझ कडा सैन्य कारबाहीको चेतावनी दिनुभएको केही घण्टामै यस्तो आक्रमण भएको हो ।

इजरायली सेनाका अनुसार शुक्रबार इरानबाट प्रहार गरिएका मिसाइलहरूलाई हवाई प्रतिरक्षा प्रणालीले अवरोध गर्ने प्रयास गरेको थियो । तत्काल ठूलो मानवीय क्षतिको विवरण नआए पनि आपतकालीन सेवाहरूले घर र सवारीसाधनमा क्षति पुगेको पुष्टि गरेका छन् । तेल अभिवस्थित रेल स्टेशन क्षेत्रमा पनि छर्राहरूले असर पारेको जनाइएको छ ।

करिब १ महिनाअघि अमेरिका र इजरायलले इरानभित्र आक्रमण सुरु गरेपछि सुरु भएको यो युद्धले अहिले व्यापक प्रतिशोधको चक्र सिर्जना गरेको छ । द्वन्द्वले मध्यपूर्वभर फैलिँदै विश्व अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पारिरहेको छ । विशेषगरी होर्मुज जलडमरूमध्य इरानले प्रभावकारी रूपमा अवरुद्ध गरेपछि ऊर्जा बजारमा ठूलो दबाब परेको छ । होर्मुज जलडमरूमध्यबाट विश्वको झन्डै पाँचौँ भाग तेल र ग्यास आपूर्ति हुन्छ ।

ट्रम्पले इरानलाई ‘पाषाण युगमा फर्काउने’ चेतावनी दिँदै वार्तामा सहमति नभए थप आक्रमण तीव्र बनाइने बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत ‘अझ बाँकी रहेको संरचना नष्ट गर्न सुरु पनि गरिएको छैन’ भन्दै पुल र विद्युत् पूर्वाधार लक्षित हुनसक्ने सङ्केत दिए। यसको प्रत्युत्तरमा इरानका विदेशमन्त्री अब्बास अराघचीले नागरिक पूर्वाधारमाथि आक्रमणले आत्मसमर्पण गराउन नसक्ने स्पष्ट पारे।

दुवै पक्षले अब सैन्य मात्र नभई आर्थिक र औद्योगिक संरचनालाई लक्षित गर्न थालेपछि विश्वव्यापी ऊर्जा आपूर्ति र आपूर्ति शृङ्खलामा गम्भीर अवरोधको चिन्ता बढेको छ ।

यसबीच, खाडी क्षेत्र पनि प्रत्यक्ष द्वन्द्वको घेरामा तानिएको छ । कुवेतको राष्ट्रिय तेल कम्पनीअन्तर्गतको रिफाइनरीमा ड्रोन आक्रमण हुँदा आगलागी भएको छ भने संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोन आक्रमणहरू विफल पारेको जनाएको छ । इरानले अघिल्लो दिन युएई, बहराइन र इजरायलका औद्योगिक लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार  १६ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।