१४ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ९ महिनामा झण्डै १५ खर्बको आयात


काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म गत आवको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १४.४० प्रतिशतले वृद्धि भएको हो ।

विभागको तथ्यांकअनुसार चैतसम्म नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख ८८ हजार रुपैयाँको भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख ८ हजार रुपैयाँ बराबरको भएको थियो ।

आयातमा १३ प्रतिशत वृद्धि, निर्यातमा १८ प्रतिशतले वृद्धि

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालमा १३.८२ प्रतिशतले आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको चैतसम्म नेपालमा १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको चैतसम्म नेपालको निर्यात गत आवको सोही अवधिको तुलनामा १८.४६ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको चैतसम्म २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख २४ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान विभिन्न मुलुकतर्फ निर्यात भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको भएको थियो ।

नेपालको वैदेशिक व्यापारमा वृद्धि भएसँगै कुल वैदेशिक व्यापार घाटामा पनि १३.०४ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको चैतसम्म नेपालको कुल व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख ६८ हजार रुपैयाँ भएकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म १२ खर्ब ६७ अर्ब ५६ करोड २६ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार  ०८ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।