प्राधिकरणको कामु कार्यकारी निर्देशकमा श्रेष्ठ


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कायम निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णयमार्फत श्रेष्ठलाई सो पदमा नियुक्त गरेका हुन् ।

श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आएका छन् । उनी २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा प्राधिकरणमा सेवा प्रवेश गरेका थिए ।

काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एण्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । प्राधिकरणले ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधारलगायतका कामलाई निरन्तरता दिने अपेक्षासहित श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

दुई सञ्चालक समिति सदस्य नियुक्त

यस्तै, मन्त्री श्रेष्ठले दुई जना नयाँ सञ्चालक समिति सदस्य नियुक्त गरेका छन् । नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौँ महानगरपालिका–१५ का अंशुकीरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ ।

त्यस्तै, उपभोक्ताकोतर्फबाट नार्गाजुन नगरपालिका–५ का कृष्ण बसेल नियुक्त भएका छन् । प्राधिकरणको सञ्चालक समितिमा उपभोक्तातर्फ प्रतिनिधित्व दलित समुदायको सहभागिता सम्भवतः पहिलोपटक नियुक्त गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको १०३० औँ बैठकले उक्त निर्णय गरेको हो । नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई आज नै ऊर्जामन्त्री श्रेष्ठले पद तथा गोपनियताको सपथ गराए ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार  ०६ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।