चलचित्र ‘परालको आगो’ को कमाई ४ करोड बढी, प्रदर्शनरत अन्य ३ को कति ?

Film Income

काठमाडौँ । चलचित्र परालको आगोको कमाई ४ करोड बढी भएको छ । चलचित्र विकास बोर्डले हलमा प्रदर्शनमा रहेका चार चलचित्रको कारोबार विवरण सार्वजनिक गरेको छ ।

चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र परालको आगो, लालीबजार, मालती मंगले र गुरुआमाको कारोबार विवरण सार्वजनिक गरेको हो । बोर्डले जेठ २ गते मध्यरातसम्मको विवरण सार्वजनिक गरेको हो ।

चलचित्र ‘परालको आगो’ले १ लाख ५१ हजार ९२८ वटा टिकट बिक्री गर्दै ४ करोड २२ लाख २३ हजार रुपैयाँ कमाएको हो ।बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको उक्त चलचित्र लक्ष्मण सुनारको निर्देशन तयार भएको हो ।

त्यसैगरी, बैशाख २५ गतेदेखि एकै साथ प्रदर्शनमा आएको चलचित्र लाली बजार, मालती मंगले र गुरुआमा मध्ये सबैभन्दा धेरै कमाई लालीबजारले गरेको छ ।

चलचित्र ‘लाली बजार’ ले १ लाख १४ हजार ४८६ वटा टिकटबाट ३ करोड ४२ लाख ६१ हजार रुपैयाँ आम्दानी गरेको हो । उक्त चलचित्र यम थापाको निर्देशनमा तयार भएको हो ।

त्यसैगरी, प्रकु पाण्डेको निर्देशनमा तयार भएको चलचित्र ‘मालती मंगले’ ले १३ हजार ८९० वटा टिकटबाट ४४ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चलचित्र ‘गुरुआमा’ ले ८ हजार ९७४ वटा टिकटबाट २८ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ । उक्त चलचित्र प्रेम सोनी सुनारको निर्देशनमा तयार भएको हो ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार  १३ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।