घरमै दूध बिक्न थालेपछि किसान उत्साहित


महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै पुगेर दूध सङ्कलन गर्न थालेपछि यहाँका किसान उत्साहित भएका छन् । किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित हुनुका साथै अनुदान पनि प्राप्त गर्ने भएका छन् ।

सहकारी संस्थाले घरघरबाटै सङ्कलन गर्ने दूधको मासिक भुक्तानीसँगै नगर कार्यपालिकाको कार्यालयले प्रतिलिटर दुई रूपैयाँ अनुदान दिएपछि किसान मख्ख छन् । “दूधका लागि पशुपालन गर्न घाँस र चरनको सुविधा भए पनि बजार सुनिश्चित नहुँदा हैरानी थियो”, बर्दिबास–३ कालापानीका किसान बालकिशोर रायमाझी भन्छन्, “अब त नगर कार्यपालिकाको कार्यालयकै रोहबरमा संस्थाले दूध लिने व्यवस्था भयो, यसले धेरै सजिलो भएको छ ।” संस्थाले गत वैशाखको तेस्रो सातादेखि घरघरमै पुगेर दूध सङ्कलन थालेको हो ।

यसअघि होटल तथा चिया पसलमा दूध दिएर भुक्तानी लिन सास्ती व्यहोरेका किसान अहिले महिना अन्त्य हुनबित्तिक्कै संस्थामै खोलिएको खातामा एकमुष्ट रकम जम्मा हुने व्यवस्थाले दङ्ग छन् । “न दूध पुर्याउन जाने झन्झट, न भुक्तानीमा कचकच”, बर्दिबास–६ किसाननगरका किसान राजबाबु महतो भन्छन्, “यो टिकाउ भइदिए हुन्थ्यो ।” संस्थागत काम हुँदा यो टिकाउ हुने किसानको आस छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  १५ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।