काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको क्षेत्रीय अर्थतन्त्रमा ठूलो असमानता देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेशिक लेखामान तथ्यांकले प्रदेशहरूको आर्थिक असमानता देखाएको हो ।
प्रतिवेदन अनुसार मधेश प्रदेश सबैभन्दा कमजोर देखिएको छ । मधेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.३१ प्रतिशत मात्र देखिएको छ । आधारभूत मूल्यमा हेर्दा पनि मधेशमा १.१३ प्रतिशत मात्रै वृद्धिदर कायम हुने अनुमान कार्यालयको छ । कार्यालयको प्रतिवेदन हेर्दा चालु वर्षमा मधेशको अर्थतन्त्र गतिशील हुन नसकेको देखिन्छ ।
आर्थिक वृद्धिदरको आधारमा बागमती प्रदेश सबैभन्दा अब्बल देखिएको छ । यो प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत (उपभोक्ता मूल्यमा) रहने कार्यालयले जनाएको छ । यस्तै दोस्रो स्थानमा रहेको गण्डकीको आर्थिक वृद्धिदर ५.०१ प्रतिशत रहने तथ्यांकमा उल्लेख गरिएको छ । सुदुरपश्चिमको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत, कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत कर्णालीको वृद्धिदर २.९४ प्रतिशत र लुम्बिनीको आर्थिक वृद्धिदर २.८७ प्रतिशत कायम हुने कार्यालयले जनाएको छ ।
आर्थिक वृद्धिदर कम हुनुको कारण कृषि उत्पादनमा उल्लेखनीय कमी हुनु र सरकारी खर्चमा सुधार हुन नसक्नु रहेको तथ्यांकले देखाएको हो । चालु आर्थिक वर्षमा समग्र मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने कार्यालयको अनुमान छ ।
प्रादेशिक जीडीपीमा बागमती अगाडी
प्रादेशिक जीडीपीको तुलनामा पनि बागमती सबैभन्दा अगाडी रहेको देखिन्छ । चालु आर्थिक वर्षमा बागमतीको जीडीपी २४ खर्ब २० अर्ब रहने कार्यालयको अनुमान छ । कोशीको जीडीपी १० खर्ब ४० अर्ब, लुम्बिनीको ९ खर्ब ३० अर्ब, मधेशको ८ खर्ब ६० अर्ब, गण्डकीको ५ खर्ब ९० अर्ब, सुदूरपश्चिमको ४ खर्ब ६० अर्ब र कर्णालीको जीडीपी २ खर्ब ७६ अर्ब रहने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
कुल प्रतिव्यक्ति जीडीपी कुन प्रदेशको कति ?
यस्तै प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको आधारमा पनि बागमती २ हजार ६४४ अमेरिकी डलर सहित शीर्षस्थानमा रहेको छ । गण्डकीको प्रतिव्यक्ति जीडीपी १ हजार ६५१ अमेरिकी डलर, कोशीको १ हजार ४१० डलर, लुम्बिनीको १ हजार २०८ डलर, सुदूरपश्चिमको १ हजार १७० डलर, कर्णालीको १ हजार ११८ डलर र मधेश प्रदेशको प्रतिव्यक्ति जीडीपी ९३४ अमेरिकी डलर रहने कार्यालयले जनाएको छ ।
जीडीपीमा सेवा क्षेत्रको योगदान उच्च
सबै प्रदेशको जीडीपीमा सेवा क्षेत्रको योगदान उच्च रहेको छ । बागमती प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ७६.५ प्रतिशत रहेको छ । कोशीमा सेवा क्षेत्रको योगदान ४९.९ प्रतिशत रहेको छ ।
मधेशमा सेवा क्षेत्रको योगदान ५२.९ प्रतिशत रहेको छ । गण्डकी र लुम्बिनीमा सेवा क्षेत्रको योगदान क्रमशः ५५.३ प्रतिशत र ५५.३ प्रतिशत रहेको छ । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको जीडीपीमा सेवा क्षेत्रको योगदान क्रमशः ५२.७ प्रतिशत र ५८.४ प्रतिशत रहेको छ ।
मधेशमा कृषिको बाहेक सबै क्रियाकलापको योगदान न्यून देखिएको कार्यालयले जनाएको छ । विद्युत् तथा ग्यास क्षेत्रले अधिकांश प्रदेशमा उच्च वृद्धिदर देखाएको छ भने कर्णाली र सुदूरपश्चिममा वित्तीय तथा बिमा सेवामा वृद्धिदर उच्च देखिएको कार्यालयको भनाई छ ।
चालु आर्थिक वर्षको सुरुवातमा आएको अत्यधिक वर्षा, बाढी र पहिरोले कृषिलाई प्रभाव पारेको छ । यसले सरकारी खर्चमा कमी ल्याएको र आर्थिक वृद्धिदरमा संकुचन ल्याएको तथ्यांकमा उल्लेख छ ।
कमजोर आर्थिक अवस्था सुधार गर्न कृषि उत्पादन बढाउनुपर्ने, सरकारी खर्चमा वृद्धि गर्नुपर्ने र आधारभूत संरचना विकासमा जोड दिनुपर्ने आवश्यक रहेको प्रतिवेदनले देखाएको छ । आर्थिक वृद्धिमा क्षेत्रीय असमानतालाई सम्बोधन गर्न नीतिगत कदम आवश्यक रहेको प्रतिवेदनले स्पष्ट पारेको छ ।
मुलुकको समग्र अर्थतन्त्रमा बागमतीको योगदान उच्च रहेको छ । मुलुकको जीडीपीमा बागमतीको योगदान ३६.४ प्रतिशत रहेको छ । कोशीको योगदान १५.८ प्रतिशत रहेको छ । यस्तै लुम्बिनीको योगदान १४.२ प्रतिशत, मधेशको योगदान १३.१ प्रतिशत, गण्डकीको योगदान ९ प्रतिशत, सुदुरपश्चिमको योगदान ७ प्रतिशत र कर्णाली प्रदेशको योगदान ४.२ प्रतिशत रहने अनुमान कार्यालयको छ ।










प्रतिक्रिया