काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्र हलमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले प्रदर्शनरत नेपाली चलचित्रको गत शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।
बक्स अफिसले चलचित्र लाली बजार, परालको आगो, मालती मंगले, गुरुआमा, लाइफ ड्यामेज र एक मुठ्ठी बादलको कारोबार विवरण सार्वजनिक गरेको हो ।
जेठ ९ गते मध्यरातसम्मको विररण हेर्दा सबैभन्दा धेरै चलचित्र ‘लालीबजार’ ले कमाएको छ । बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र लालीबजारले १ लाख ९६ हजार ४०६ टिकट बिक्री गर्दै ५ करोड ७६ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । यम थापाको निर्देशनमा तयार भएको सो चलचित्रले प्रदर्शनरत अन्य चलचित्रहरुले भन्दा राम्रो कमाई गरेको छ ।
त्यसैगरी, कमाइको दोस्रो स्थानमा परालको आगो रहेको छ । उक्त, चलचित्रले १ लाख ५३ हजार ९२५ वटा टिकट बिक्री गर्दै ४ करोड २७ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको छ । बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको उक्त चलचित्र लक्ष्मण सुनारको निर्देशनमा तयार भएको हो ।
तेस्रो स्थानमा रहेको चलचित्र मालती मंगलेले १६ हजार १३७ वटा टिकट बिक्री गर्दै ५१ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ । प्रकु पाण्डेको निर्देशनमा तयार भएको सो चलचित्र बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको हो ।
चौथो स्थानमा रहेको चलचित्र गुरुआमाले हालसम्म ९ हजार ३२७ टिकट बिक्री गरी २९ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ । प्रेम सोनी सुनारको निर्देशनमा तयार भएको उक्त चलचित्र बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको थियो ।
त्यसैगरी, निमेष श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र लाइफ ड्यामेजले हालसम्म ९ हजार २४१ वटा टिकटबाट २८ लाख ४६ हजार रुपैयाँ कमाएको छ । उक्त चलचित्र जेठ १ गतेदेखि प्रदर्शनमा आएको थियो ।
यस्तै, चलचित्र एक मुठ्ठी बादलले हालसम्म १ हजार ५०१ टिकट बिक्री गरी ५ लाख २१ हजार रुपैयाँ आम्दानी गर्दै सूचीको अन्तिम स्थानमा परेको छ । साहारा शर्माको निर्देशनमा तयार भएको उक्त चलचित्र जेठ १ गतेदेखि प्रदर्शनमा आएको थियो ।










प्रतिक्रिया