पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार


इस्लामाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले यस्तो प्रस्ताव आफ्नो ‘मौलिक विचारधारा’ सँग मेल नखाने भन्दै अस्वीकार गरेको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पारे।

पाकिस्तानी सञ्चारमाध्यम समा टिभीसँगको अन्तर्वार्तामा उनलाई अमेरिकी दबाब र कूटनीतिक सङ्केतपछि पाकिस्तान अब्राहम सम्झौतामा हस्ताक्षर गर्ने सम्भावनाबारे प्रश्न गरिएको थियो । जवाफमा आसिफले आफ्नो व्यक्तिगत तथा राजनीतिक धारणा प्रस्ट पार्दै पाकिस्तानले आफ्नो वैचारिक आधारसँग टकराव हुने कुनै पनि व्यवस्थामा सहभागी हुन नहुने बताए।

इजरायलसँग सम्बन्ध विस्तारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै उनले ती पक्षसँग दीर्घकालीन भरोसाको आधार निर्माण गर्न कठिन हुने तर्क गरे। उनले ‘जसको शब्दलाई एक दिन पनि विश्वास गर्न नसकिने पक्षसँग कसरी सहकार्य सम्भव हुन्छ रु’ भन्ने प्रश्नसमेत गरे ।

पाकिस्तानको दीर्घकालीन नीति दोहोर्‍याउँदै आसिफले इजरायलसँग सम्बन्ध सामान्यीकरणसम्बन्धी अवधारणा आफ्नो देशलाई स्वीकार्य नभएको स्पष्ट गरे । उनले यस विषयमा पाकिस्तानको आधिकारिक र ऐतिहासिक धारणा परिवर्तन नभएको सङ्केत गरे।

रक्षामन्त्री आसिफले पाकिस्तानको पासपोर्ट नीतिलाई पनि आफ्नो तर्कको आधार बनाए। उनका अनुसार पाकिस्तानको पासपोर्टमै इजरायललाई मान्यता नदिने राष्ट्रिय नीति झल्किन्छ । उनले पाकिस्तानको पासपोर्टमा इजरायलको नामसमेत उल्लेख नगरिएको उल्लेख गर्दै यसले इस्लामाबादको संस्थागत नीति र दीर्घकालीन दृष्टिकोण स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने बताए ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।